बाढीले राहुगंगा जलविद्युत् आयोजनामा क्षति, प्रसारण लाइनका टावरसमेत प्रभावित
जलसरोकार
काठमाडौं : अविरल वर्षापछि राहुगंगा नदीमा आएको बाढीले म्याग्दीमा निर्माण तथा सञ्चालनमा रहेको राहुगंगा जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएको छ। बाढीले आयोजनाका भौतिक संरचनासँगै विद्युत् प्रसारण लाइनका टावरमा समेत क्षति पुर्याएपछि आयोजनाको विद्युत् उत्पादन र प्रसारण प्रभावित हुन सक्ने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले आयोजनाको कुन–कुन संरचनामा कति क्षति पुर्याएको हो भन्ने विवरण भने अझै पूर्ण रूपमा आइसकेको छैन। क्षतिको वास्तविक अवस्था पहिचान गर्न तथा पुनःस्थापनाको काम अघि बढाउन प्राविधिक टोली परिचालन गरिएको छ। टोलीले आयोजनाका संरचना, प्रसारण लाइन तथा क्षतिग्रस्त टावरहरूको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिरहेको छ।
प्राविधिक टोलीको स्थलगत अध्ययनपछि मात्र बाढीबाट पुगेको क्षतिको यकिन विवरण आउनेछ। त्यसपछि आवश्यक मर्मत, पुनःनिर्माण तथा पुनःस्थापनाको काम अघि बढाइने जनाइएको छ। प्रसारण संरचनामा पुगेको क्षतिको अवस्थाले आयोजनाबाट उत्पादित विद्युत् प्रणालीमा जोड्नसमेत चुनौती थपिन सक्ने देखिएको छ।
यसैबीच, लगातारको वर्षाका कारण मनाङमा पनि विद्युत् प्रसारण प्रणाली प्रभावित भएको छ। विभिन्न स्थानमा गएको पहिरोले ३३ केभी विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा विद्युत् आपूर्तिसँगै सञ्चार सेवासमेत प्रभावित भएको छ।
पहिरोका कारण अवरुद्ध भएको विद्युत् लाइन मर्मत गरी सेवा पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोलीहरू परिचालन गरिएको छ। वर्षा नरोकिएका कारण पहिरो प्रभावित क्षेत्रमा पुगेर मर्मतको काम गर्न चुनौती रहे पनि विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने गरी टोलीहरू खटिएका छन्।
लगातारको वर्षासँगै आएको बाढीपहिरोले जलविद्युत् आयोजनाका उत्पादन संरचनादेखि प्रसारण तथा वितरण प्रणालीसम्म असर पुर्याउन थालेपछि विद्युत् पूर्वाधारको पुनःस्थापना अहिले सम्बन्धित निकायका लागि चुनौती बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बाढीले राहुगंगा जलविद्युत् आयोजनामा क्षति, प्रसारण लाइनका टावरसमेत प्रभावित
-
अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा प्रसारण लाइनदेखि जलविद्युत् आयोजनासम्म क्षति
-
सुन र चाँदीको मूल्य महँगियो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नारायणीको जलसतह १३ मिटर पुग्ने पूर्वानुमान, चितवनसहित १६ जिल्लामा बाढीको उच्च जोखिम
-
सेनाको निष्कर्ष : जलविद्युत्काे पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
-
कुलेखानी जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्यो, तल्लो तटीय क्षेत्रलाई सतर्क रहन आग्रह