सुपर तमोर जलविद्युत् आयोजनाका लागि २५ अर्बभन्दा बढीको वित्तीय व्यवस्थापन सुनिश्चित
जलसरोकार
काठमाडौं: नेपालकै ऊर्जा क्षेत्रमा ठूलो लगानीमध्ये एक मानिएको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि २५ अर्ब ४० करोड रुपैयाँ बराबरको वित्तीय सुनिश्चितता सम्पन्न भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुन लागेको उक्त आयोजनाका लागि ग्लोबल आइएमई बैंक को अगुवाइमा बैंक तथा वित्तीय संस्थाले करिब १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
आयोजनाको प्रवर्द्धक क्रिस्टल पावर डेभलपमेन्ट ले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ग्लोबल आइएमई बैंकसँगै सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक को सहभागितामा आयोजनाको ऋण सम्झौता सम्पन्न भएको हो ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान ४/४ अर्ब रुपैयाँ लगानी गर्नेछन् । प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने जनाइएको छ ।
कुल लागतको झण्डै ७५ प्रतिशत ऋणमार्फत जुटाइनेछ भने बाँकी करिब ६ अर्ब ४० करोड रुपैयाँ संस्थापक तथा अन्य लगानीकर्ताबाट इक्विटी लगानीका रूपमा व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य तथा सहभागी बैंकका प्रतिनिधिबीच ऋण सम्झौतामा हस्ताक्षर भएसँगै आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको हो ।
२५.५ घनमिटर प्रतिसेकेन्ड पानी उपयोग गर्ने गरी डिजाइन गरिएको आयोजनाको हेड ७६२ मिटर रहनेछ । आयोजनाबाट वार्षिक ९८३.१३ गिगावाट आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युत्मध्ये ३०.८५ प्रतिशत सुख्खायाममा तथा ६९.१५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ ।

विद्युत् खरिद बिक्री सम्झौता (PPA) अनुसार आयोजनाको पहिलो आठ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धिको व्यवस्था गरिएको छ । कम्पनीका अनुसार आयोजनाले सञ्चालनको पहिलो वर्षमै करिब ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ ।
आयोजनाअन्तर्गत ५० मिटर लामो बाँध निर्माण गरिनेछ भने ६ किलोमिटर लामो सुरुङमार्फत पानी विद्युत्गृहसम्म पुर्याइनेछ । त्यहाँबाट उत्पादित विद्युत् ८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जनाइएको छ ।
हाल आयोजनास्थलमा पहुँच सडक, कार्यालय, कामदार आवास, सामग्री भण्डारण गृह, कार्यशाला तथा अन्य पूर्वाधार निर्माणको काम अघि बढिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आयोजनामा जलविद्युत् क्षेत्रमा अनुभवी लगानीकर्तासँगै स्थानीयवासीको समेत लगानी रहनेछ । भविष्यमा सर्वसाधारणलाई पनि सेयर लगानीको अवसर प्रदान गरिने कम्पनीको भनाइ छ ।
ऊर्जा क्षेत्रमा पछिल्ला वर्षहरूमा ठूलो लगानीका आयोजना सुस्ताइरहेका बेला सुपर तमोर आयोजनाको वित्तीय सुनिश्चिततालाई निजी क्षेत्रको ऊर्जा लगानीमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने