४४० मेगावाटको तिला-१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण
जलसरोकार
काठमाडौं । कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला-१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। निजी क्षेत्रको एससी पावर कम्पनी प्रालिले निर्माण गर्ने आयोजनाका लागि एनएमबि बैंक लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
तिला खोलामा निर्माण हुने आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। उक्त लागतको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाबाट ऋणमार्फत जुटाइने भएको हो।
वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ। ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह-अगुवा बैंकका रूपमा छन् भने अन्य बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन्।
वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्।
एससी पावर कम्पनीको नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरिरहेको छ। उत्पादन अनुमतिपत्रअनुसार आयोजनाको क्षमता ४४० मेगावाट रहेको छ। विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ।
आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। ५९ अर्ब ४० करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजनाबाट पहिलो वर्षमै ११ अर्ब रुपैयाँभन्दा बढी आम्दानीको प्रक्षेपणले आयोजनाको वित्तीय सम्भावनालाई पनि बलियो देखाएको छ।
निजी क्षेत्रबाट निर्माण हुने ठूलो आयोजना
तिला-१ आयोजना निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको जडित क्षमताका आधारमा अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना हो।
४४० मेगावाटको क्षमताले यसलाई निजी क्षेत्रका ठूला जलविद्युत् आयोजनाको सूचीमा महत्वपूर्ण परियोजनाका रूपमा उभ्याएको छ। आयोजना निर्माणका लागि आवश्यक ५९ अर्ब ४० करोड रुपैयाँमध्ये करिब ७५ प्रतिशत ऋणबाट जुटाइनेछ। बाँकी रकम प्रवर्द्धकको स्वपुँजीबाट व्यवस्थापन गरिनेछ।
वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणमा जानका लागि आवश्यक ठूलो वित्तीय स्रोत सुनिश्चित भएको छ। अब आयोजनाको मुख्य चुनौती भनेको निर्धारित लागत र समयभित्र निर्माण सम्पन्न गरी २०८७ पुस १५ सम्म व्यावसायिक उत्पादनमा लैजानु हुनेछ।
एनएमबिको जलविद्युत्मा ५० भन्दा बढी आयोजनामा लगानी
एनएमबि बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार लगानीका वातावरणीय तथा सामाजिक पक्षको मूल्याङ्कन गर्दै दिगो लगानीलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
तिला-१ आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्षको अध्ययन तथा मूल्याङ्कनसमेत गरिएको बैंकले जनाएको छ। अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने क्रममा आयोजनाको प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षणका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) द्वारा विकसित उपकरण प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राष्ट्रिय प्रसारण लाइनसँगै विद्युत् पहुँच विस्तार तीव्र पार्दैछौँ : ऊर्जामन्त्री श्रेष्ठ
-
नेप्से झिनो अंकले घट्यो, कारोबार रकम साढे ३ अर्बभन्दा तल
-
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, ‘सिजनल ट्यारिफ’ ल्याउने गृहकार्य
-
४४० मेगावाटको तिला-१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण
-
अहिले घाटामा, आयोजना चलेपछि करोडौँ नाफा : त्रिशूली-३बीले शेयर मूल्यलाई कहाँ पुर्याउन सक्छ?
-
वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध