माछाखोला जलविद्युत् आयोजनामा २ अर्ब ६८ करोड रुपैयाँ लगानी सुनिश्चित
जलसरोकार
काठमाडौं : गोरखा जिल्लाको धार्चे गाउँपालिकामा निर्माण हुन लागेको १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सुनिश्चित भएको छ । प्रवर्द्धक कम्पनी वाटर इनर्जी डेभलपमेन्ट प्रालिले कृषि विकास बैंक लिमिटेडको अगुवाइ तथा लुम्बिनी विकास बैंक लिमिटेडको सहभागितामा ऋण सम्झौता सम्पन्न गरेपछि आयोजनाले निर्माणको गति थप्ने अपेक्षा गरिएको छ ।
आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य, कृषि विकास बैंकका तर्फबाट योगेन्द्रबहादुर सिंह तथा सहभागी बैंक लुम्बिनी विकास बैंकका तर्फबाट भेषराज गौतमले हस्ताक्षर गरेका हुन् । कम्पनीका अनुसार वित्तीय सुनिश्चिततासँगै आयोजना निर्माण कार्य थप तीव्र गतिमा अघि बढाइनेछ ।
१६ मेगावाट क्षमताको उक्त आयोजनाको कुल लागत ३६६ करोड रुपैयाँ अनुमान गरिएको छ । कुल लागतको ७३ दशमलव २२ प्रतिशत अर्थात् २६८ करोड रुपैयाँ ऋण लगानीमार्फत जुटाइनेछ । यसमध्ये कृषि विकास बैंकले १५० करोड रुपैयाँ तथा लुम्बिनी विकास बैंकले ११८ करोड रुपैयाँ लगानी गर्नेछन् । बाँकी ९८ करोड रुपैयाँ संस्थापक तथा अन्य लगानीकर्ताबाट सेयर लगानीका रूपमा जुटाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आयोजनालाई प्रतिक्षण ३ दशमलव ४० घनमिटर पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ भने यसको ग्रस हेड ५६२ दशमलव ५० मिटर रहेको छ । आयोजनाबाट वार्षिक ९८ दशमलव ४९ गिगावाट आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युत्मध्ये ३२ दशमलव ४२ प्रतिशत सुख्खायाममा तथा ६७ दशमलव ५८ प्रतिशत वर्षायाममा उत्पादन हुने जनाइएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत्का आधारमा पहिलो वर्षमै करिब ५८ करोड ७६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको कम्पनीले जनाएको छ । साथै नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद-बिक्री सम्झौताअनुसार पहिलो आठ वर्षसम्म वार्षिक तीन प्रतिशतका दरले मूल्यवृद्धि हुने व्यवस्था रहेकाले आयोजनाको आम्दानी क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।
आयोजनाको संरचनाअन्तर्गत २५ मिटर लामो बाँध निर्माण गरिनेछ । त्यसबाट ३ हजार ३८३ मिटर लामो ३×३ मिटरको इनभर्टेड ‘डी’ आकारको सुरुङमार्फत पानी लगिनेछ । सुरुङपछि १ हजार ७७२ मिटर लामो पेनस्टक पाइपमार्फत सतही विद्युत्गृहमा पानी पुर्याएर विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।
उत्पादित विद्युत् २२ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन बोराङ सबस्टेसनमा जोडिनेछ । त्यसपछि राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् आपूर्ति गरिने जनाइएको छ ।
कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको छ । गत वैशाखदेखि सुरुङ निर्माण कार्यसमेत सुरु भइसकेको र जलविद्युत् क्षेत्रमा अनुभव प्राप्त ठेकेदारमार्फत निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।
आयोजनामा जलविद्युत् क्षेत्रमा लगानी तथा सञ्चालन अनुभव भएका उद्यमीहरूसँगै स्थानीयवासीको समेत लगानी रहने कम्पनीले जनाएको छ । साथै भविष्यमा सर्वसाधारणलाई पनि सेयर लगानीको अवसर प्रदान गर्ने तयारी रहेको उल्लेख गरिएको छ ।
कम्पनीले माछाखोला आयोजना राम्रो प्रतिफल दिन सक्ने सम्भावना बोकेको दाबी गर्दै वित्तीय सुनिश्चिततापछि निर्माण कार्यले थप गति लिने विश्वास व्यक्त गरेको छ । आयोजनाको प्रगति सँगै लगानीकर्तामा समेत उत्साह बढेको कम्पनीको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माछाखोला जलविद्युत् आयोजनामा २ अर्ब ६८ करोड रुपैयाँ लगानी सुनिश्चित
-
इप्पानमा विवाद चर्कियो, ‘विधान कार्यान्वयन नगरी निर्वाचन अघि बढाउन मिल्दैन’
-
प्रसारण लाइन अभावमा विद्युत् खेर जानु हुँदैन : ऊर्जामन्त्री श्रेष्ठ
-
तीन दिनपछि हरियो बन्यो नेप्से, कारोबार रकम घट्दा यूनियन हाइड्रोपावरमा उच्च दबाब
-
समयसँग दौडिँदै तामाकोशी–५ (भिडियाे)
-
१० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत, पुँजीगत खर्च अझै २८ प्रतिशतमा सीमित