अर्थमन्त्री खनालको पहिलो घोषणा : खर्च कटौती र तयारीविहीन आयोजना रोक्ने


काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार औपचारिक रूपमा अर्थ मन्त्रालयको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण अघि मन्त्रालय परिसरमा उनलाई उच्च पदस्थ अधिकारीदेखि कनिष्ठ कर्मचारीसम्मले स्वागत गरेका थिए ।
पदभार ग्रहण समारोहमा मन्त्री खनालले आफूमाथि आएको विश्वासप्रति आभार प्रकट गर्दै अबका दिनमा अर्थ मन्त्रालयलाई पारदर्शी, जनउत्तरदायी र परिणाममुखी बनाउन आफू प्रतिबद्ध रहने बताए । उनले कर्मचारीहरूसँगको पहिलो भेटमै आफूलाई ‘माननीय’ भनेर सम्बोधन नगर्न आग्रह गर्दै सहज कार्यसंबन्ध कायम गर्न चाहेको स्पष्ट गरे ।
खनालले पदभार ग्रहणसँगै मन्त्रालयको पहिलो निर्णयसमेत सार्वजनिक गरे । उनका अनुसार अब कुनै पनि पूर्व तयारीविनाका तथा टुक्रे योजनाहरूलाई कार्यान्वयनमा नलैजाने नीति अख्तियार गरिएको छ । उनले भने,
“अबको प्राथमिकता युवाका मागहरू सम्बोधन गर्नु र निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्नु हो । त्यसका लागि अनावश्यक खर्च कटौती अपरिहार्य भएकाले यस्ता आयोजना अघि नबढाइने निर्णय गरिएको हो ।”
अर्थमन्त्री खनालले मुलुकको वर्तमान आर्थिक चुनौतीलाई स्वीकार गर्दै खर्च नियन्त्रण, संसाधनको परिचालन र पारदर्शी वितरण प्रणालीमार्फत मात्र मुलुकलाई स्थायित्वतर्फ डोर्याउन सकिने बताए । उनका अनुसार युवाहरूलाई रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ ।
कार्यक्रममा मन्त्रालयका सचिव तथा अन्य उच्च अधिकारीहरूले नयाँ नेतृत्वप्रति स्वागत व्यक्त गर्दै खनालको कार्यकालमा मन्त्रालयले नयाँ गति लिने विश्वास व्यक्त गरेका थिए ।
खनाल पूर्व सचिवसमेत भएकाले अर्थ प्रशासन र बजेट व्यवस्थापनमा दीर्घ अनुभवसम्पन्न मानिन्छन् । यही पृष्ठभूमिले गर्दा उनको कार्यशैलीले अर्थतन्त्रलाई केही हदसम्म स्थिरता दिलाउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको घोषणा : सरकारी सुविधा नलिने, तलब शहीद सहयोग कोषमा
-
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता उठाउने प्रक्रिया तत्काल अघि बढाइने
-
ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त, इप्पानले व्यक्त गर्यो बधाई
-
अर्थमन्त्री खनालको पहिलो घोषणा : खर्च कटौती र तयारीविहीन आयोजना रोक्ने
-
अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
-
भैरहवामा भारी वर्षाले डुबान, जनजीवन प्रभावित