व्यावसायिक सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न महासङ्घको आग्रह
जलसरोकार
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुनमन्त्री अनिलकुमार सिन्हासँग भएको भेटमा टोलीले हालैको आन्दोलनका क्रममा उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा तोडफोड र आगजनी हुँदा ठूलो क्षति भएको भन्दै आमसर्वसाधारण र व्यवसायीको मनोबल कायम गर्न सुरक्षाको ग्यारेन्टी अपरिहार्य रहेको जनाएको छ ।
अध्यक्ष ढकालले आन्दोलनका क्रममा भएको क्षतिले मुलुकभर करिब ८० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको जानकारी दिँदै दोषीमाथि कडाभन्दा कडा कारबाही र भविष्यमा आक्रमण नहुने सुनिश्चिततामा जोड दिए ।
“देशको समुन्नतिका लागि अन्योल अन्त्य गरेर सुशासन कायम गर्न महासङ्घ सरकारसँग सहकार्य गर्न तयार छ । निजी क्षेत्रको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान छ, त्यसैले निर्वाध काम गर्ने वातावरण आवश्यक छ,” ढकालले भने ।
मन्त्री सिन्हाले ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको तत्परतालाई सकारात्मक बताउँदै सरकार आमसर्वसाधारण तथा व्यावसायिक सुरक्षाप्रति गम्भीर रहेको स्पष्ट पारे । उनले उद्योग व्यवसायको पुनरोत्थान र सुधारका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गरे ।
उक्त अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले प्रत्येक आन्दोलनमा निजी क्षेत्र प्रभावित हुने गरेकाले दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउँदै पुनर्निर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तुको प्रयोग गर्न आग्रह गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य