व्यावसायिक सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न महासङ्घको आग्रह
जलसरोकार
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुनमन्त्री अनिलकुमार सिन्हासँग भएको भेटमा टोलीले हालैको आन्दोलनका क्रममा उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा तोडफोड र आगजनी हुँदा ठूलो क्षति भएको भन्दै आमसर्वसाधारण र व्यवसायीको मनोबल कायम गर्न सुरक्षाको ग्यारेन्टी अपरिहार्य रहेको जनाएको छ ।
अध्यक्ष ढकालले आन्दोलनका क्रममा भएको क्षतिले मुलुकभर करिब ८० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको जानकारी दिँदै दोषीमाथि कडाभन्दा कडा कारबाही र भविष्यमा आक्रमण नहुने सुनिश्चिततामा जोड दिए ।
“देशको समुन्नतिका लागि अन्योल अन्त्य गरेर सुशासन कायम गर्न महासङ्घ सरकारसँग सहकार्य गर्न तयार छ । निजी क्षेत्रको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान छ, त्यसैले निर्वाध काम गर्ने वातावरण आवश्यक छ,” ढकालले भने ।
मन्त्री सिन्हाले ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको तत्परतालाई सकारात्मक बताउँदै सरकार आमसर्वसाधारण तथा व्यावसायिक सुरक्षाप्रति गम्भीर रहेको स्पष्ट पारे । उनले उद्योग व्यवसायको पुनरोत्थान र सुधारका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गरे ।
उक्त अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले प्रत्येक आन्दोलनमा निजी क्षेत्र प्रभावित हुने गरेकाले दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउँदै पुनर्निर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तुको प्रयोग गर्न आग्रह गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली