जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

उद्योग-व्यवसायले खपत गर्ने विद्युतलाई कच्चा पदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन महासंघका अध्यक्ष ढकालको आग्रह

जलसरोकार
शुक्रबार, भदौ ०७, २०८१ | १५:२५:४१ बजे

काठमाडौै‌ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग व्यवसायले खपत गर्ने विद्युतलाई कच्चा पदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ढकालले ह्वीलिंग चार्ज (प्रसारण शुल्क) तिरेर सिधै बिजुली किन्ने व्यवस्था गरिनुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष ढकालले अर्थतन्त्रमा विस्तारै सुधार देखिंदा समग्र बजार चलायमान हुन थालेकाले यो  अवसर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

‘सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको छ,’ उनले भने ।

बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे ।

देशभित्र सेयर बजारमा उत्साह छ भने घरजग्गा कारोबार पनि विस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियाे ।

'पर्यटक आगमन बढिरहेको, रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको, विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्ताहरुलाई विश्वासमा लिन सहज हुनेछ,' उनको भनाइ थियाे ।

थप पर्यटक आकर्षित गर्न पोखरा तथा भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भइरहेका पहलको स्वागत गर्दै अध्यक्ष ढकालले स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने शुल्कको अन्तर हटाउन तथा हवाई यात्रा सुलभ र सस्तो बनाउन पहल लिने समय आएको तर्फ पनि ढकालले ध्यानाकर्षण गराए । 


‘प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने थाइल्यान्ड भ्रमणका क्रममा नेपाल थाइल्यान्ड बिजनेस फोरम आयोजना गरी विदेशी लगानी भित्र्याउने पहलमा साथ दिन महासंघले हरतरहले काम गरिरहेको छ’, अध्यक्ष ढकालले भने ।
यसअघि महासंघले भारतमा दुईपटक र  चीन तथा  दुबईमा यस्तै चार वटा लगानी पवर्द्धन कार्यक्रम आयोजना गरिसकेको छ ।  लगानीकर्ताहरुको माग बमोजिम महासंघले  स्थापना गरेको विदेशी लगानी सहायता कक्षले लगानीकर्ताहरूलाई सहयोग पुर्‍याइरहेको पनि अध्यक्ष ढकालले उल्लेख  गरे ।

सो अवसरमा आर्थिक सुधारका लागि आयोग बनाउने विषयलाई कार्य योजनामा समेटिएको भन्दै अध्यक्ष ढकालले अर्थमन्त्रीलाई धन्यवाद समेत ज्ञापन गरे ।  । यस्तो आयोगले निजी क्षेत्र सरकारका सरोकारवाला निकायबिच समन्वयको काम गर्ने र समस्या समाधानको पहल गर्ने विश्वासमा महासंघले आर्थिक सुधार आयोगको प्रस्ताव गर्दै आएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।  
ढकालले  कम्तीमा दश वर्ष उत्पादनमूलक क्षेत्रका लागि ल्याइएको सहुलियतमा परिवर्तन नगर्न पनि आग्रह गरे । 

सानो लगानी भएका तर ठाउँ नपाएका साना लगानीकर्ताहरूलाई समेटेर महासंघको पहलमा नेपाल डेभलेपमेन्ट कम्पनी स्थापना भएको जानकारी गराउँदै अध्यक्ष ढकालले यसबाट हामी स्टार्ट अप, जलविद्युत लगायतका पूर्वाधार एवं सार्वजनिक संस्थानहरूको क्षमता विस्तारमा लगानी गर्ने योजना रहेको पनि बताए ।

निजी क्षेत्रलाई हेर्ने करिब डेढ दर्जन नियामक निकाय भएकाले अख्तियारको कार्यक्षेत्र भित्र तान्न पर्ने अवस्था नरहेकाले यसमा निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण गर्न नहुने तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । 

निजी क्षेत्रमैत्री कानुनी व्यवस्था र नीति निर्माण  तहमा निजी क्षेत्रको सहभागिताले नै आर्थिक समृद्धि हासिल हुने भएकाले राजनीतिक तथा सरोकारवालाहरूले यसमा ध्यान दिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे ।

प्रकाशित मिति : शुक्रबार, भदौ ०७, २०८१ | १५:२५:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया