सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

जलसरोकार
शुक्रबार, असार २०, २०८२ | १७:१७:४६ बजे

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लन्डनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ढकालले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादनजस्ता क्षेत्रमा नेपालमा लगानीका लागि आकर्षक अवसरहरू उपलब्ध रहेको बताएका छन्।

नेपाल-बेलायत आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित उक्त कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा विशेष सम्बोधन गर्दै ढकालले नेपाल र बेलायतबीच दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराउँदै गोरखा सैनिकहरूको भर्ती, विकास सहयोग, शिक्षा र व्यापारका क्षेत्रमा बेलायतले पुर्‍याएको योगदानको चर्चा गरेका छन्। उनले दुई देशबीचको सम्बन्ध व्यापार र लगानीमार्फत अझ उचाइमा पुर्‍याउनुपर्ने बताए।

नेपालमा लगानीका अपार सम्भावना रहेको चर्चा गर्दै ढकालले नेपालकाे रणनीतिक भौगोलिक स्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र विस्तार हुँदै गएको मध्यम वर्गका कारण लगानीमैत्री वातावरण बनेको बताए।

ढकालले भने, “तपाईंहरूका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा महत्वपूर्ण अवसरहरू छन्। नेपालसँग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन क्षमता छ। स्वच्छ र हरित ऊर्जा नै भविष्य हो र म तपाईंहरूलाई यी अवसरहरूमा सहभागी हुन आमन्त्रण गर्छु।”

सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी केन्द्र बनाउन सकिने बताउँदै ढकालले लगानीकर्तालाई नेपालमा लगानीका लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिबद्ध रहेको उल्लेख गरे।

नेपाल-बेलायत सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायले खेलेको भूमिकाको सराहना गर्दै ढकालले नेपाली उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा नेपाली समुदायले थप योगदान दिनसक्ने धारणा राखे।

कार्यक्रमले नेपाल र बेलायतबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

 

प्रकाशित मिति : शुक्रबार, असार २०, २०८२ | १७:१७:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया