बत्ती गएको भन्दै झुटा सूचना ! धरानबाट फोन, धनकुटामा हल्ला
जलसरोकार
विराटनगर,: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र कोशी प्रदेश कार्यालयले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र तथा ग्रीड महाशाखाहरूको संयुक्त अनुगमन तथा सेवा प्रवाह मूल्याङ्कन सम्पन्न गरेका छन् ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जा मन्त्री दीपक खड्काका स्वकीय सचिव भूपाल मान बस्नेतसहितको टोलीले आइतवार र सोमबार दुई दिनसम्म विराटनगर, दुहबी, इटहरी लगायतका वितरण केन्द्र तथा ग्रीड महाशाखामा स्थलगत अवलोकन गरेका हुन् । टोलीले अनुगमनकै क्रममा उपभोक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै विद्युत सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारको पक्षमा महत्वपूर्ण जानकारी संकलन गरेको छ ।
टोलीले विशेष रूपमा विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रीड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए तापनि केही उपभोक्ताबाट आएको गुनासोमा गम्भीरताका साथ ध्यान दिएको जनाएको छ ।
अनुगमनकै क्रममा एक अचम्मको घटनाले टोलीको ध्यान खिचेको छ । सागर थापा नाम बताउने एक व्यक्तिले साँझ ८ः१५ बजे ९७६३७०२७३४ नम्बरबाट फोन गरी धनकुटामा विद्युत सेवा अवरुद्ध भएको जानकारी दिएका थिए । तर प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि विद्युत अवरुद्ध नभएको पुष्टि भयो ।
थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दुःख दिने नियतले अपमानजनक र उछ्रीनखल शैलीमा भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जाल र युट्युबलगायत प्लेटफर्महरूमा राखिदिने धमकिपूर्ण शब्द प्रयोग गरेको खुलेको छ ।
ऊर्जा मन्त्रीका स्वकीय सचिव भूपाल मान बस्नेतका अनुसार, ती व्यक्ति धरानको पानमाराबाट फोन गरिरहेको पत्ता लागेको छ । उनले झुटा जानकारीमार्फत नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको छवि धमिल्याउने प्रयास गरेको निष्कर्षमा पुगेपछि सम्बन्धित निकायमा सूचना दिइएको हो। अहिले ती व्यक्तिको सम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
केही दिन अघि मात्रै ऊर्जा मन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याउने चेतावनी दिनुभएको थियो। उक्त घटनाले मन्त्रीको भनाइ व्यवहारमा परिणत हुँदै गएको देखिन्छ ।
ऊर्जा मन्त्रालय र कोशी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिंदै, सत्य र तथ्यको आधारमा सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले आगामी दिनमा यस्ता झुटा सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट सन्देश दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै