सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चार मोर्चाबाट खनिँदै ६.६ किमि सुरुङ, ४१.८६ मेगावाटको सुपर लोअर बागमती आयोजना निर्माणले लियो गति

जलसरोकार
आइतबार, असार १४, २०८३ | १३:३७:०२ बजे
तस्वीरहरु : TAC Hydro

काठमाडौं : बागमती नदीमा निर्माणाधीन ४१.८६ मेगावाट क्षमताको सुपर लोअर बागमती जलविद्युत् आयोजना निर्माणले गति लिएको छ। आयोजनाको सबैभन्दा जटिल संरचनामध्ये एक मानिएको करिब ६.६ किलोमिटर लामो हेडरेस सुरुङ चारवटा कार्यस्थल (Four Working Faces) बाट एकैसाथ खन्ने काम भइरहेको छ।

आयोजनाको प्रमुख ऋणदाता लक्ष्मी सनराइज बैंक लिमिटेडका तर्फबाट प्राविधिक परामर्शदाता (Technical Consultant) का रूपमा काम गरिरहेको TAC Hydro Consultancy Pvt. Ltd. ले हालै गरेको स्थलगत निरीक्षणमा आयोजनाको निर्माण कार्य स्वीकृत कार्यतालिकाअनुसार अघि बढिरहेको जनाएको हो।

कम्पनीका अनुसार निरीक्षणका क्रममा निर्माण प्रगति, निर्माणको गुणस्तर, कार्यसम्पादन, निर्माण सामग्रीको अवस्था तथा निर्माण कम्पनीले पेश गरेका अन्तरिम भुक्तानी दाबी (Interim Payment Certificate-IPC Bill) को प्राविधिक परीक्षण गरिएको थियो।

निरीक्षणमा हेडरेस सुरुङको उत्खनन चार स्थानबाट निरन्तर भइरहेको पाइएको छ। आयोजनाको हेडवर्क्स क्षेत्रमा बाढीबाट संरचना जोगाउन निर्माण गरिने सबै फ्लड प्रोटेक्सन वाल सम्पन्न भइसकेका छन् भने ९४ मिटर लामो ओजी (Ogee) डाइभर्सन वेयर अन्तर्गत दुई वटा वेयर प्यानलको निर्माण सकिएको छ। साथै इन्टेक, ग्राभेल ट्र्याप, डिस्यान्डर तथा अन्डरस्लुइस संरचनाको निर्माण पनि समानान्तर रूपमा अघि बढिरहेको TAC ले जनाएको छ।

सुपर लोअर बागमती आयोजना बागमती प्रदेशका मकवानपुर, ललितपुर, काभ्रे र सिन्धुली जिल्लामा फैलिएको छ। आयोजनाको इन्टेक मकवानपुरको बागमती गाउँपालिका-७ स्थित हुचिटार मा रहनेछ भने विद्युत्‌गृह (Powerhouse) बागमती गाउँपालिका-९ को बगेरी मा निर्माण भइरहेको छ।

यो आयोजना नदी प्रवाही  (Run-of-River) प्रकृतिको हो। आयोजनाले २०६.२ मिटर ग्रस हेड तथा १९५.६६ मिटर नेट हेड उपयोग गरी ४१.८६ मेगावाट विद्युत् उत्पादन गर्नेछ। आयोजना सम्पन्न भएपछि वार्षिक करिब २४३.८ गिगावाट घण्टा (GWh) विद्युत् राष्ट्रिय प्रणालीमा थपिने अपेक्षा गरिएको छ।

आयोजनाको डिजाइनअनुसार नदीमा ९४ मिटर लामो डाइभर्सन वेयर, चारवटा इन्टेक गेट, २० मिटर लामो ग्राभेल ट्र्याप, दुईवटा हपरयुक्त डिस्यान्डर, ८०.९ मिटर लामो इनभर्टेड साइफन, ६.५९ किलोमिटर लामो दबाबयुक्त (Pressurized) हेडरेस सुरुङ, ५० मिटर अग्लो सर्ज साफ्ट तथा ९३४ मिटर लामो भूमिगत स्टिल-लाइनिङ गरिएको प्रेसर साफ्ट निर्माण गरिनेछ।

विद्युत्‌गृहमा १४.३९ मेगावाट क्षमताका तीन वटा भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइन जडान गरिनेछन्। ती टर्बाइनबाट उत्पादित विद्युत् ११ केभीमा उत्पादन गरी तीनवटा १६.५ एमभिए क्षमताका ट्रान्सफर्मर मार्फत १३२ केभीमा स्तरोन्नति गरिनेछ। त्यसपछि २८ किलोमिटर लामो १३२ केभी एकल सर्किट प्रसारण लाइन मार्फत रौतहटको चन्द्रनिगाहपुर सबस्टेसन मा राष्ट्रिय प्रसारण प्रणालीसँग जोडिनेछ।

प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाको कुल लागत (निर्माण अवधिको ब्याज तथा वित्तीय लागतसहित) रु. ८ अर्ब ६३ करोड २१ लाख रहने अनुमान छ। प्रति मेगावाट लागत करिब रु. २० करोड ६२ लाख पर्नेछ। आयोजना निर्माण अवधि ४८ महिना निर्धारण गरिएको छ।

प्राविधिक अध्ययनअनुसार आयोजनाको आन्तरिक प्रतिफल दर (IRR) १४.०३ प्रतिशत, लाभ-लागत अनुपात (Benefit-Cost Ratio) १.३९ तथा ऋण सेवा वहन क्षमता (DSCR) १.४५ रहेको छ।

बैंकले किन गर्छ यस्तो प्राविधिक अनुगमन?

नेपालका अधिकांश ठूला जलविद्युत् आयोजना बैंक तथा वित्तीय संस्थाको ऋण लगानीमा निर्माण हुने भएकाले ऋणदाता संस्थाले स्वतन्त्र प्राविधिक परामर्शदाता नियुक्त गर्ने अभ्यास छ। यस्ता परामर्शदाताले निर्माण कार्य स्वीकृत डिजाइन, गुणस्तर र समयतालिकाअनुसार भइरहेको छ वा छैन भन्ने नियमित अनुगमन गर्नुका साथै निर्माण कम्पनीले पेश गर्ने अन्तरिम भुक्तानी दाबी (IPC Bill) को प्राविधिक प्रमाणीकरण गर्छन्।

सुपर लोअर बागमती आयोजनामा TAC Hydro Consultancy ले यही जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ।

सुपर लोअर बागमती आयोजना एक नजरमा

  • क्षमता : ४१.८६ मेगावाट
  • नदी : बागमती
  • आयोजना प्रकार : रन अफ द रिभर (RoR)
  • वार्षिक उत्पादन : २४३.८० GWh
  • हेडरेस सुरुङ : ६.५९ किमि
  • प्रेसर साफ्ट : ९३४ मिटर
  • सर्ज साफ्ट : ५० मिटर
  • टर्बाइन : ३ वटा भर्टिकल फ्रान्सिस (१४.३९ मेगावाट प्रत्येक)
  • प्रसारण लाइन : १३२ केभी, २८ किमि
  • ग्रिड जडान : चन्द्रनिगाहपुर १३२ केभी सबस्टेसन
  • कुल लागत : रु. ८६३.२१ करोड
  • निर्माण अवधि : ४८ महिना
प्रकाशित मिति : आइतबार, असार १४, २०८३ | १३:३७:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया