ऊर्जा विकासमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरू इनर्जी नेपाल मिडिया हाउसबाट सम्मानित
जलसरोकार
काठमाडाैँ : ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई इनर्जी नेपाल मिडिया हाउस प्रा. लि. को दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको छ।
होटेल एभरेष्टमा आयोजित विशेष समारोहमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ तथा इनर्जी नेपाल मिडिया हाउसका अध्यक्ष विकास थापाले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरे ।
सम्मानित हुने व्यक्तित्वहरूमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, एनएमबी बैंकका दिनेश दुलाल, जलविद्युत तथा ऊर्जाका राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारी, ऊर्जा उद्यमी शैलेन्द्र गुरागाईं, मोहन विक्रम कार्की, बटु लामिछाने, अभिज्ञा मल्ल, आत्माराम घिमिरे, अनुप आचार्य, भरतप्रसाद पराजुली, पुष्पज्योति ढृंगाना, भानेन्द्रकुमार लिम्बु, काजी लामा, चन्द्रमणी बास्कोटा, मृगेन्द्रबहादुर श्रेष्ठ तथा पत्रकार सुनिता कार्की छन् ।
कार्यक्रममा पूर्वा ऊर्जा मन्त्री एवं उज्यालाे नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऐन कानुन नसुधारेसम्म केही काम गर्न नसकिने बताए ।
‘इप्पानका साथीहरु माग ल्याउनु हुन्छ, आखिर केही समाधान हुँदैन,' घिसिङले भने, ’त्यही वन (वन मन्त्रालयमा) मा गएर ठोकिन्छ । म मन्त्री भएको भोलिपल्टै वनको खुलाउने भनेर प्रधानमन्त्रीकहाँ प्रस्तुति गरेको त्यो दुई महिना लगाएर घुम्दाघुम्दा बल्ल बल्ल मन्त्रिपरिष स्वीकृत भएको छ । त्यही भएको हुनाले ऐन कानुनमा ठूलो सुधार नगरेसम्म काम गर्न गाह्रो छ ।'
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) राेकेर जलविद्यत्मा लगानी ठप्प पारेकाे बताए । उनले प्रवर्द्धकहरुकाे नियन्त्रणबाहिरका अवस्था (बाढी, पहिरो, भूकम्प, काेराेना, नाकाबन्दी आदि) मा भनेकाे समयमा बिजुली उत्पादन गर्न नसक्दा आरसीओडी थप नगरेकाे गुनासाे गरे ।
सम्मानित ऊर्जा उद्यमी अभिज्ञा मल्लले जलविद्युत् आयोजनाहरु निर्माणले समग्र राष्ट्रको विकासमा योगदान पुगेको चर्चा गर्दै यस क्षेत्रमा ज्वलन्त समस्या समाधान गर्न सबैसँग आग्रह गरिन् । त्यसैगरी सम्मानित अर्क अभियन्ता कृष्णप्रसाद भण्डारीले प्राधिकरणले पीपीए राेकेर मुलुकको अहित गरिरहेकाे उल्लेख गरे ।
इनर्जी नेपाल मिडिया हाउसले ऊर्जा उत्पादन, नीति निर्माण, वित्तीय लगानी, उद्यमशीलता, अनुसन्धान तथा तथ्यपरक पत्रकारितामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको अध्यक्ष थापाले बताए ।
कार्यक्रममा वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रलाई दीगो, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन नीति सुधार, लगानी प्रवर्द्धन, निजी क्षेत्रको सशक्त सहभागिता र जिम्मेवार तथा तथ्यमा आधारित पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याएका थिए।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री श्रेष्ठले सार्वजनिक गरे ऊर्जा क्षेत्रको संरचनात्मक सुधारका लागि ३२ बुँदे सुधार योजना
-
मनसुनपूर्व तयारी : बाढी–जोखिम न्यूनीकरणका लागि २४ सै घण्टा पूर्वसूचना प्रणाली सक्रिय
-
सेयर बजारमा गिरावट, नेप्से ३३ अंकले घट्यो
-
नारायणी सिँचाइ : जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
-
ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय
-
सुनचाँदीको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?