सेयर बजार दीपक खड्का सुनको मूल्य नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

घर हिंड्न लागेका सचिवसँग ऊर्जामन्त्रीको ‘कार्य सम्पादन सम्झौता’

जलसरोकार
बुधबार, भदौ ११, २०८२ | १४:२४:३५ बजे

काठमाडौं : हरेक दुई, दुई महिनामा महानिर्देशक, सहसचिव र आयोजना प्रमुखहरु सरुवा गरेर ऊर्जा तथा सिंचाई क्षेत्रका कर्मचारी वृत्तमा आतंक मच्चाएका ऊर्जा मन्त्री दीपक खड्काले सेवा निवृत्त हुन एक साता पनि बाँकी नभएका ऊर्जा सचिवसँग ‘कार्य सम्पादन सम्झौता’ गरेका छन् ।

ऊर्जा सचिव सुरेश आचार्य यही साता सेवा निवृत्त हुँदैछन् ।

ऊर्जा र सिंचाई सचिवहरु आफ्नो अडानमा बस्न नसक्दा मन्त्री खड्काले यी दुवै क्षेत्रका कर्मचारीहरुलाई आफूखुशी चलाएर अस्थिरता उत्पन्न गराउँदै आएका छन् । निजामती सेवा ऐन र नियमावलीअनुसार सामान्यता एकजना कर्मचारीलाई दुई वर्ष नपुगी सरुवा गर्नु हुँदैन ।

तर मन्त्री खड्काले एक वर्षमा सिंचाई विभागमा मात्रै चारवटा महानिर्देशक फेरिसकेका छन् । सुनकोसी मरिन डाइभर्सन आयोजनाले काम गर्न अक्षम ठेकेदार पटेल रमण जेभीको जमानत फिर्ता लिन खोज्दा स्वयं मन्त्रीले सहजीकरण गरिदिनुपर्नेमा ठेकेदारको पक्षमा उभिएर गत साता आयोजना प्रमुख नै सरुवा गरिदिए ।

कार्य सम्पादन सचिवहरुसँग गरे पनि सरुवाको काम मन्त्री आफैले गर्दै आएका छन् । समीक्षा बैठकमा सबै विभागीय प्रमुखहरुलाई भेला पारी काम गर्न नसकेको भन्दै रोष पनि उनै मन्त्री खड्काले प्रकट गर्ने गरेका छन् ।

एक समीक्षा बैठकमा ‘तपाईंहरु रातभरि पढेको तर एसएलसीचाहिं फेल हुने विद्यार्थीजस्तो’ उपनाम दिंदै समीक्षा बैठकमा मन्त्रीले दिएको अभिव्यक्ति ऊर्जा र सिंचाई क्षेत्रमा चर्चित छ ।

ऊर्जा मन्त्रीको सचिवालयले सञ्चार माध्यमहरुलाई पठाएको तयारी समाचारअनुसार मन्त्री खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो।

सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए। कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यसपटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

“बजेट र स्रोत सुनिश्चित भइसकेका आयोजना ढिलाइ नगरी अघि बढाउनुपर्छ। सचिव र आयोजना प्रमुखले अझ सक्रिय भूमिका खेल्नुपर्ने समय आएको छ,” मन्त्री खड्काले भने ।  उनले अनलाइन प्रणालीमार्फत नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाउने र प्रत्येक हप्तामा प्रगति मूल्याङ्कन गर्ने योजना पनि अघि सारेको उक्त तयारी समाचारमा उल्लेख छ ।

मन्त्री खड्काले अन्तरमन्त्रालय तथा मन्त्रालयभित्रका विभागीय समन्वयलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै समयमै काम सम्पन्न गर्न प्रतिबद्ध हुन निर्देशन पनि दिए ।

 “देश बनाउने जिम्मा हामी सबैको हो। क्षमताको पूर्ण सदुपयोग गर्दै परिणाम निकाल्नुपर्छ,” उनको भनाइ थियो।

यसअघि साउन २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऊर्जा मन्त्री खड्काबीच पनि आगामी वर्षको कार्यसम्पादन सम्झौता भएको थियो।

मूल्याङ्कन प्रतिवद्धतामूलक हुने भएकाले कामको प्रत्यक्ष परिणाम देखिनेगरी अघि बढ्नुपर्ने सिंचाई सचिव सरीता दवाडीले बताइन् ।

उनले शतप्रतिशत प्रगति लक्ष्य हासिल गर्ने दृढता व्यक्त गरिन् ।

त्यस्तै सचिव दिनानाथ मिश्रले पनि सम्झौतामा उल्लेखित लक्ष्य कार्यान्वयन गर्दै संस्थाको उद्देश्य पूरा गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा प्रमुख र विभागीय महानिर्देशकहरूले पनि आफ्ना-आफ्ना क्षेत्रसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेका थिए ।

प्रकाशित मिति : बुधबार, भदौ ११, २०८२ | १४:२४:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया