जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा मन्त्रीको सरुवा आतंक, दुई महिना नपुग्दै आधा दर्जन सहसचिव सरुवा

जलसरोकार
मंगलबार, वैशाख ३०, २०८२ | १५:३४:०३ बजे

काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले ऊर्जा सचिव भुटान भ्रमणमा रहेको मौका पारी मन्त्रालयका आधा दर्जन सहसचिवहरुलाई दुई महिना नपुग्दै सरुवा गरेर मन्त्रालयमा पुनः सरुवा आतंक सुरु गरेका छन् ।
ऊर्जा सचिव सुरेश आचार्य र मन्त्रालयको वैदेशिक सहायता महाशाखाका सहसचिव जीवछ मण्डल गत साता भुटान गएको मौका छोपी मन्त्री खड्काले दुई महिना पनि नबित्दै पुनः सरुवा आतंक सुरु गरेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य नम्बर दिएका सहसचिव जीवछ मण्डललाई मन्त्री खड्काले वैदेशिक सहायता महाशाखाबाट मिल्काएर निर्माण नहुने बूढीगण्डकी जलविद्युत् आयोजनाको कम्पनीमा पुर्‍याएका छन् । ‘सचिवले मण्डललाई च्याप्दाच्याप्दै सचिव नभएको मौकामा मिल्काइनु भयो, जीरो नम्बर दिएको पनि काम लागेन,’ मन्त्रालयका एक अधिकारीको टिप्पणी ।
कुलमानलाई शून्य नम्बर दिएर सामाजिक बहिष्कारको जोखिममा परेको कमिटीका प्रशासन महाशाखाका सहसचिव शम्भु मरासिनीलाई भने मन्त्री खड्काले चलाएका छैनन् ।
बूढीगण्डकीमा दुई महिनाअघि मात्र गएका सहसचिव चिरञ्जीवी चटौतलाई मन्त्रालयको ऊर्जा महाशाखामा ल्याइएको छ । ऊर्जा महाशाखाका सहसचिव सन्दीपकुमार देवलाई जल तथा शक्ति आयोग सचिवालयमा मिल्काइएको छ । देवलाई दुई महिनाअघि मात्रै ऊर्जा महाशाखामा यिनै मन्त्री खड्काले ल्याएका थिए ।
त्यसैगरी विद्युत् विकास विभागका सहसचिव सागरराज गौतमलाई मन्त्रालयको वैदेशिक सहायता महाशाखामा ल्याइएको छ । 
यसअघि मन्त्री खड्काले विद्युत् विकास विभागका महानिर्देशक नबीनराज सिंहलाई मन्त्रालय तानेर उनको ठाउँमा मण्डललाई महानिर्देशक बनाउन चिठी नै तयार गरिसकेका थिए । तर त्यसबेला ‘अदृश्य शक्ति’ ले सिंहको सरुवा रोकिएको थियो । 

मन्त्री खड्काले सिंचाईका सहसचिवहरुको सरुवामा पनि हात हालेका छन् । सिंचाईका डा.महेश्वर श्रेष्ठलाई नौमुरे आयोजना प्रमुख बनाइएको छ ।
यसअघि मन्त्री खड्काले सिचाईं विभागका महानिर्देशक चूर्णबहादुर ओलीलाई ल्याएर मन्त्रालयको कोरिडरमा राखेका थिए (हाल बजेट महाशाखा प्रमुख) । ओलीको ठाउँमा मन्त्रालयका सहसचिव सञ्जीव बराललाई लगिएको थियो । बराललाई दुई महिना पनि पुग्न नपाउँदै महानिर्देशकबाट हटाई विभागका देवराज निरौलालाई लगिएको थियो ।
निरौलालाई पनि दुई महिना टिक्न नदिई पुनः सिंचाईं विभागको महानिर्देशकमा उनै बराललाई लगेका थिए ।
मन्त्री खड्का राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) को दरबन्दी भएको सुनकोसी–मरिन डाइभर्सन आयोजना प्रमुख तथा सहसचिव मित्र बराललाई तानी केही महिना मन्त्रालयको कोरिडरमा राखेका थिए । बरालको ठाउँमा राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) का बद्री कार्कीका लगेका थिए । 
अर्का सहसचिव एवं सुनसरी मोरङ सिंचाई आयोजनाका प्रमसख डा. कृष्णराज पाठकलाई तानेर नागमती धाप ठ्याममा लगिएको थियो । नागमतिबाट विभागको उपमहानिर्देशक बनाइएका डा. पाठकलाई अहिले जिम्मेवारी नदिई मन्त्रालयको कोरिडरमा राखिएको छ । 
पाठकको ठाउँमा उपसचिव भिलानन्द यादवलाई लगिएको थियो । उनको पनि बागमतीमा सरुवा गरियो, सहसचिवमा पदोन्नति भई त्यहींबाट निवृत्त भए । अहिले सडकबाट आएका द्वितीय श्रेणीका रमेश सिंहलाई सुनसरी मोरङमा लगिएको छ । सुनसरी मोरङमा आएपछि सिंह पनि प्रथम श्रेणीमा बढुवा भइसकेका छन् । 
डा. पाठकलाई नागमती धाप ड्याम आयोजनामा पुर्‍याइएको थियो । त्यहाँबाट उनी विभागको उपमहानिर्देशक भए । हाल उपमहानिर्देशकबाट मन्त्रालयको कोरिडरमा राखिएको छ । 
त्यस्तै सहसचिवको दरबन्दी भएको सिक्टा सिंचाई आयोजना प्रमुख एवं सहसचिव गोपाल शर्मालाई हटाएर उपसचिव राजु आचार्यलाई प्रमुख बनाइएको थियो । 
मन्त्रालयका एक अधिकारीका अनुसार सिंचाई सचिव सरिता दवाडीले आफू महिला भएका कारण सरुवा नगर्न मन्त्री खड्काई बिन्ती गरेकी थिइन् । दवाडीलाई सिंचाई सचिव कायमै राख्ने तर सहसचिव र उपसचिव चलाउँदा बोल्न नपाइने शर्त खड्काले राखेका थिए । ‘हाम्रो सचिव (दवाडी) मन्त्री सामु त्वं शरणम् गरेकाले यी मन्त्रीले दुई महिना पुग्न नपाउँदै यति गिजोल्दा पनि चूप लागेर बस्नुभएको छ,’ ती अधिकारीले भने । 
 

प्रकाशित मिति : मंगलबार, वैशाख ३०, २०८२ | १५:३४:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया