साना र मझौला आयोजना बेवास्ता नगर्न ऊर्जा मन्त्रीको निर्देशन, निजी क्षेत्रसँग सहकार्य अपरिहार्य
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो र समावेशी विकासका लागि साना र मझौला जलविद्युत् आयोजनालाई पनि प्राथमिकतामा राख्न स्पष्ट निर्देशन दिएका छन्। उनले निजी क्षेत्रसँगको सहकार्यलाई मजबुत बनाउँदै लगानी अभावमा रहेका परियोजनाहरूलाई वित्तीय पहुँचमा ल्याउन संस्थागत भूमिका आवश्यक रहेको बताए ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खड्काले हालसम्म कम्पनीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। साथसाथै उनले आगामी दिनमा अझ प्रभावकारी तथा परिणाममुखी ढंगले अघि बढ्न आह्वान गरे।
“२५ मेगावाटभन्दा कम क्षमताका आयोजना बेवास्ता गर्न मिल्दैन,” मन्त्री खड्काले भने, “साना र मझौला आयोजनाले समग्र ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएका छन्, त्यसैले नीति परिमार्जन गर्दै यस्ता आयोजनाहरूलाई समेट्ने कार्ययोजना तयार गर्नुपर्छ।”
निजी क्षेत्रसँग सहकार्य अपरिहार्य
ऊर्जामन्त्री खड्काले निजी क्षेत्रको सहकार्यलाई “अपरिहार्य” भन्दै एचआईडीसीएललाई ऋण, इक्विटी वा सहजीकरणमार्फत सघाउन निर्देशन दिए। “कसैलाई डुब्न नदिने” भन्ने धारणा व्यक्त गर्दै उनले ऊर्जा आत्मनिर्भरता र निर्यात सम्भावना साकार पार्न नयाँ सोच, प्रविधि र साझेदारी आवश्यक रहेको उल्लेख गरे।
“ऊर्जा क्षेत्र आफैंमा बैंकको बैंक बन्न सक्छ,” मन्त्री खड्काले भने, “स्रोतको वैज्ञानिक र दिगो उपयोगबाट मात्र समृद्धिको मार्ग सम्भव छ।”
समयमै सम्पन्नता र गुणस्तरीय निर्माणमा जोड
जलस्रोतलाई राष्ट्रको प्राकृतिक सम्पत्ति भन्दै मन्त्रीले परियोजनाहरूको समयमै सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण निर्माणका लागि नीति सुधार प्रक्रिया अघि बढाइएको जानकारी दिए।
संस्थागत प्रस्तुतीकरण र सम्मान
कार्यक्रममा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाले कम्पनीको विगतको प्रगति र भावी योजनाबारे प्रस्तुतीकरण गरे।
त्यस्तै ऊर्जा सचिव तथा कम्पनी अध्यक्ष सुरेश आचार्यले सार्वजनिक–निजी साझेदारीमा कम्पनीले १४ वर्षे यात्रामा हासिल गरेका उपलब्धिहरू उल्लेख गरे।
कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल, इप्पान अध्यक्ष गणेश कार्की, र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलगायत वक्ताहरूले ऊर्जा क्षेत्रमा लगानी विस्तार, प्रविधि रूपान्तरण र समयमै कार्यान्वयनका विषयमा धारणा राखे ।
समारोहमा उत्कृष्ट कर्मचारीहरूलाई मन्त्री खड्काले सम्मानित गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा