सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच भेट, ऊर्जा पूर्वाधार र जलविद्युत् सहकार्यबारे छलफल

जलसरोकार
बुधबार, साउन १३, २०८३ | ०९:५०:१२ बजे

 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका आकिहिकोबीच मंगलबार भेटवार्ता भएको छ। ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटका क्रममा मन्त्री श्रेष्ठले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा जाइकाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै हालसम्मको सहयोग र लगानीका लागि धन्यवाद व्यक्त गरे। उनले जाइकाको सहयोगमा निर्माण भएका कनकाइ तथा चन्द्रनहर परियोजनाको चर्चा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

मन्त्री श्रेष्ठले नागढुंगा सुरुङमार्ग निर्माणमा जाइकाले गरेको सहयोगका लागि पनि आभार व्यक्त गरे। सुरुङमार्ग उद्घाटनको अवसरमा नेपाल आएका जाइका अध्यक्ष आकिहिकोले मन्त्री श्रेष्ठसँग भेट गरी आपसी हितका विविध विषयमा छलफल गरेका हुन्।

छलफलका क्रममा मन्त्री श्रेष्ठले नेपालको ‘क्लिन एण्ड ग्रीन इनर्जी’ अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग गर्न आग्रह गरे। साथै, नदी जलाधार क्षेत्रको गुरुयोजना निर्माण भइरहेको जानकारी दिँदै ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका योजनाबारे अवगत गराएका थिए।

भेटमा जाइका अध्यक्ष आकिहिकोले तनहुँ जलविद्युत् आयोजनामा देखिएका समस्याको समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए। जवाफमा मन्त्री श्रेष्ठले आयोजनाका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षको बजेटमा प्रसारणलाइन विस्तारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै त्यसका लागि मास्टर प्लान तयार भइरहेको बताए। उनले विद्युत् वितरण प्रणालीलाई थप सबल र भरपर्दो बनाउन पनि काम भइरहेको उल्लेख गरे।

नेपालको समृद्धिको आधारमध्ये वैकल्पिक ऊर्जा पनि एक महत्वपूर्ण क्षेत्र रहेको बताउँदै मन्त्री श्रेष्ठले यसलाई प्राथमिकतामा राखेर योजना बनाइएको जानकारी दिए। उनले जापानी उच्च प्रविधिको प्रयोगबाट निर्माण भएको कुलेखानी जलविद्युत् आयोजनाको प्रशंसा गर्दै नलगाड जलविद्युत् आयोजनामा समेत सहकार्य गर्न जाइकालाई आग्रह गरे।

२०७२ सालको भूकम्पपछि नेपाललाई जाइकाले उपलब्ध गराएको सहयोगको स्मरण गर्दै मन्त्री श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए।

जाइका अध्यक्ष आकिहिकोले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य गर्न संस्था इच्छुक रहेको बताउँदै नयाँ परियोजनाहरूमा समेत चासो व्यक्त गरे। उनले पूर्वाधार निर्माणमा जापानको नवीन प्रविधि, अनुभव र लगानी नेपालमा विस्तार गर्न जाइकाको तयारी रहेको बताए।

प्रकाशित मिति : बुधबार, साउन १३, २०८३ | ०९:५०:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया