विद्युत सेवा सुधार र ग्राहक सन्तुष्टिमा ध्यान दिन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विद्युत सेवालाई दिगो, सुरक्षित र भरपर्दो बनाउन वितरण प्रणालीलाई चुस्त-दुरुस्त राख्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
बिहीबार नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रदेश तथा डिभिजन प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै मन्त्री श्रेष्ठले पछिल्ला दिनमा देशका विभिन्न क्षेत्रमा देखिएका विद्युत आपूर्ति समस्याबारे जानकारी लिँदै वितरण प्रणाली सुधार र ग्राहक सेवालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे ।
उनले विद्युत कटौती, मर्मतसम्भार तथा अन्य प्राविधिक कारणले सेवा प्रभावित हुने अवस्था आएमा सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत ग्राहकलाई पूर्वसूचना दिनुपर्नेमा जोड दिए । साथै ग्राहकका गुनासोको तत्काल सम्बोधन, सेवा प्रवाहमा जवाफदेहिता र जनचेतना अभिवृद्धिलाई समेत महत्व दिनुपर्ने उनकाे भनाइ थियो।
मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरण आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेकाले वितरण प्रणाली सुधारका लागि आवश्यक कार्यक्रम, बजेट माग र कार्यान्वयन योजना स्पष्ट आधारसहित पेश गर्न निर्देशन दिए । उनले उपकरणहरूको मौज्दात कानुनअनुसार सुनिश्चित गर्नुपर्ने तथा स्रोतको सीमितताका कारण आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।
ट्रान्सफर्मरलगायत विद्युत उपकरणको गुणस्तरबारे विभिन्न तहबाट प्रश्न उठिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिए। उनले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगर्न विशेष निर्देशन दिए ।
विद्युत सेवा नागरिकको दैनिक जीवन र आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको दिगो आपूर्ति सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले प्राविधिक तथा व्यवस्थापकीय सुधार तत्काल सुरु गर्न प्राधिकरणका प्रबन्ध निर्देशक तथा सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए ।
सरकारले विद्युतको आन्तरिक खपत बढाउने रणनीति कार्यान्वयन गरिसकेको सन्दर्भमा आपूर्ति प्रणाली विश्वसनीय हुनुपर्नेमा जोड दिँदै आवश्यक नीतिगत सुधार वा अधिकार प्रत्यायोजनका विषय लिखित रूपमा मन्त्रालयमा पेश गर्न आग्रह गरे। त्यस्ता विषयमा मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री श्रेष्ठले सरकारले लागू गरेको ऊर्जा आपत् रणनीति पहिलो चरणमा काठमाडौं उपत्यकाबाट कार्यान्वयन गरिने भएकाले त्यसका लागि आवश्यक संरचनागत सुधार र तयारी समयमै गर्न प्राधिकरणलाई निर्देशन दिए ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता कुमारी दवाडीले सिँचाइ सुविधा विस्तार सरकारको प्राथमिकतामा रहेको बताउँदै प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा नेपाल विद्युत प्राधिकरण र सिँचाइ कार्यालयहरूले सहकार्य गर्नुपर्ने बताउनुभयो। उहाँले किसानलाई कृषि मिटर उपलब्ध गराउने तथा कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन समेत निर्देशन दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ६ अर्ब ८६ करोड नाघ्यो
-
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह
-
असारे खर्चको परम्परा कायमै, आर्थिक वर्षको अन्तिम महिनामै २ खर्ब १८ अर्बभन्दा बढी बजेट खर्च
-
विद्युत सेवा सुधार र ग्राहक सन्तुष्टिमा ध्यान दिन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
-
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको माटो थुपार्दा नदी कटान र पहिरो बढेको स्थानीयको गुनासो