दुर्गम गाउँमा सौर्य उज्यालो: ऊर्जामन्त्रीको प्रशंसा


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले देशका दुर्गम गाउँबस्तीहरूमा सरकारले अझै उज्यालो पुर्याउन नसकेको अवस्थामा सौर्य विद्युत उत्पादक संघले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।
नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै मन्त्री खड्काले भने, "सौर्य विद्युत उत्पादनमार्फत सरकारले उज्यालो पुर्याउन नसकेका ठाउँमा संघले उल्लेखनीय भूमिका खेलेको छ। सिँचाइ गर्न नसकिएका क्षेत्रमा सौर्य प्रणालीमार्फत पानी पुर्याएर संघले महत्वपूर्ण योगदान दिएकोमा म आभार प्रकट गर्न चाहन्छु।"
उनले थपे, "विद्युतको आवश्यकता बढ्दो छ, माग उच्च छ, तर आपूर्ति पर्याप्त छैन भन्ने गुनासो छ। अब तीव्र गतिमा काम गर्ने बेला आएको छ। सरकारले लिएको १० वर्षे दिगो ऊर्जा लक्ष्य हासिल गर्न संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य छ।"
ऊर्जामन्त्री खड्काले दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकार नीतिगत सहजीकरण गरिरहेको जानकारी पनि दिए। स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण भइसकेको उल्लेख गर्दै उनले भने, "हामी जलविद्युतमा जति अगाडि बढिरहेका छौँ, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्वपूर्ण विषय हो। जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नवीकरणीय स्रोतमा आधारित हुनुपर्छ।"
उनका अनुसार, सरकारले सौर्य ऊर्जा क्षेत्रमा निजी लगानी आकर्षित गर्न सौर्य विद्युत खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार, तथा बैंकिङ पहुँचलाई प्राथमिकता दिएको छ।
"हामी स्वच्छ ऊर्जा उत्पादन गरिरहेका छौं," मन्त्री खड्काले भने, "कार्बन उत्सर्जन गरिरहेका राष्ट्रहरूसँग क्षतिपूर्तिको माग गर्न कूटनीतिक र अन्तर्राष्ट्रिय स्तरमा सरकार तयार छ।"
कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले अध्यक्षता गरेका थिए। उनले सौर्य ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान, सरकारसँगको सहकार्यको आवश्यकता, र आगामी दिनमा स्थायित्वसहित लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, "संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण अपरिहार्य छ।"
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, संघका वरिष्ठ उपाध्यक्ष, सदस्यहरू, विभिन्न सौर्य कम्पनीका प्रतिनिधिहरू, प्राधिकरणका पदाधिकारी, विज्ञहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रजत जयन्ती समारोहमा मन्त्री खड्काले संघद्वारा प्रकाशित ‘उज्यालो यात्रा’ नामक स्मारिकाको विमोचन गरेका थिए। कार्यक्रममा संघका संस्थापक पदाधिकारीहरूलाई सम्मान गरिनुका साथै सौर्य ऊर्जा प्रवर्द्धनमा योगदान पुर्याउने कम्पनीहरूलाई कदरपत्र प्रदान गरिएको थियो। साथै, सौर्य ऊर्जा क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा पनि व्यापक छलफल गरिएको थियो।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा सिंचाईं विभागका चार महानिर्देशक फेरिसकेका मन्त्री खड्काले भने, ‘लक्ष्य भेटिने गरी सिँचाइ क्षेत्रको विकासमा लागौं ।’
-
कर्मचारी सरुवा गर्न नपाएको झोंकमा ऊर्जामन्त्री र सचिवले रोके प्राधिकरणको बजेट
-
मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना तयार गर्न निर्देशन
-
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित र सघन प्रयास जारी: अर्थमन्त्री पौडेल
-
दुर्गम गाउँमा सौर्य उज्यालो: ऊर्जामन्त्रीको प्रशंसा
-
एनएमबि बैंकद्वारा मानवसेवा आश्रममा सोलार सामग्री हस्तान्तरण