भ्रममा नपरी देश विकासमा जुट्न ऊर्जा मन्त्री खड्काको आग्रह
जलसरोकार
सिन्धुली : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले विभिन्न स्तरबाट फैलाइँदै आएका अफवाह र कुप्रचारप्रति चिन्ता व्यक्त गर्दै ती भ्रममा नपरी देशको विकासमा समर्पित हुन आग्रह गरेका छन् ।
सुनकोशी मरिन ड्राइभर्सन बहुउद्देशीय आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुली पुगेका मन्त्री खड्काले जिल्लास्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुसँगको भेटमा देशको हालको राजनीतिक, सामाजिक अवस्था र विकास रणनीतिबारे आफ्नो धारणा व्यक्त गर्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।
‘देशमा केही पनि नभएको होइन, धेरै काम भएका भएका छन्, केही हुँदै पनि छन्, धेरै काम गर्न सकिन्छ र गर्नु पनि पर्छ । त्यसका लागि सकारात्मक सोच र काम गर्ने इच्छाशक्ति अपरिहार्य छ,’ मन्त्री खड्काले भने ।
उनले केही तत्त्वहरु सामाजिक सञ्जाल लगायतमा 'हो कि हो कि' जस्तो लाग्ने खालको हल्ला फैलाएर जनमानसमा भ्रम छर्ने प्रयास गरिरहेको उल्लेख गर्दै यस्ता भ्रामक गतिविधिबाट सचेत रहन पार्टी कार्यकर्ता र सर्वसाधारण नागरिकलाई आग्रह गरे ।
गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाणबिना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यावहारिक रहेको धारणा राखे । ‘यदि यसरी हल्लाको भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र ? कानुनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’ मन्त्री खड्काको भनाइ थियो।
ऊर्जा मन्त्रालयको चालू आर्थिक वर्षको बजेट र नीति कार्यक्रमबारे जानकारी गराउँदै मन्त्री खड्काले यो बजेट सन्तुलित भएको र कार्यान्वयनमा गएपछि यसको प्रभाव जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने दाबी गरे । उनले ऊर्जा क्षेत्रबाटै मुलुकमा समृद्धि हासिल हुने र गरीबी निवारण हुने बताउँदै सरकार गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै बिनाधित्तो दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको सेयर उपलब्ध गराउने नीति ल्याएको बताए ।
केही भएन भन्ने भाष्य सिर्जना गर्नेहरु बढे पनि यथार्थ त्योभन्दा फरक रहेको उनले बताए । उनले आफ्नै कार्यकालमा क्षेत्रीय ऊर्जा व्यापारतर्फ नेपालले उल्लेखनीय सफलता हासिल गर्दै बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री शुरु गरिएको दाबी गरे ।
अब भारतसँग १० हजार र बंगलादेशलगायत तेस्रो मुलुकसँग ५ हजार गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने सुनिश्चितता कायम भएको बताउँदै यसले देशको आर्थिक सबलीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
समाजमा बढ्दो असन्तोष, निराशा र हल्लाका कारण उत्पन्न नकारात्मक वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री खड्काले संयमित भएर आफू मात्रलाई नभई आफ्ना सन्तानको भविष्यसमेत हेरेर देश निर्माणको अभियानमा जुट्न आह्वान गरे। ‘समाजलाई भड्किन नदिऔं, देश बनाउने अरू होइन, हामी आफैं हौं’ मन्त्री खड्काको अपिल थियो।
पार्टी कार्यलयमा आयोजित सो कार्यक्रम नेपाली कांग्रेस सिन्धुलीका जिल्ला उपसभापति दीपक कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलकी सचेतक सांसद सुनिता थिङ, जिल्ला पार्टीका पूर्वसभापति मोहन प्रसाद बराल, उज्वल बराललगायत नेताहरूको उपस्थिति थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा