सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दार्चुलाको छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु, १२० परिवार लाभान्वित

जलसरोकार
आइतबार, पुस ०६, २०८२ | १५:३८:१२ बजे

 

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिड सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।

मिनिग्रिड सञ्चालनमा आएपछि छाङरुका १२० परिवार, तीन व्यावसायिक फर्म तथा चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । उनका अनुसार यसअघि नियमित विद्युत् सेवा नपाएका स्थानीयले अब दैनिक रूपमा उज्यालो पाउन थालेका छन् ।

चिसो मौसमका कारण ब्याट्री संरक्षणका लागि राति ९ः०० देखि १०ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द गरी राति २ः०० बजेसम्म चार्ज गरिने व्यवस्था गरिएको वडाध्यक्ष बोहराले बताए । मिनिग्रिडबाट उत्पादित विद्युत् वितरणका लागि १ दशमलव ११३ किलोमिटर थ्री–फेज र ४३२ मिटर सिङ्गल–फेज प्रसारण लाइन निर्माण गरिएको छ ।

सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सरकारी कार्यालयहरूमा पनि सोही मिनिग्रिडबाट विद्युत् आपूर्ति भइरहेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत अमानुवल हक अन्सारीका अनुसार मिनिग्रिड निर्माणमा केन्द्रको रु चार करोड १३ लाख ३३ हजार १०२ लगानी रहेको छ भने स्थानीय उपभोक्ताबाट १० प्रतिशत श्रमदान गरिएको हो ।

यसअघि छाङरुमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् सेवा विस्तार गर्ने प्रयास भए पनि हिमपात, बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का कारण पटकपटक क्षति पुग्दा सेवा नियमित हुन सकेको थिएन । सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि घरघरमा उज्यालो पुगेको भन्दै स्थानीय बासिन्दा खुसी भएका छन् ।

प्रकाशित मिति : आइतबार, पुस ०६, २०८२ | १५:३८:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया