दार्चुलाको छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु, १२० परिवार लाभान्वित
जलसरोकार
दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिड सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।
मिनिग्रिड सञ्चालनमा आएपछि छाङरुका १२० परिवार, तीन व्यावसायिक फर्म तथा चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए । उनका अनुसार यसअघि नियमित विद्युत् सेवा नपाएका स्थानीयले अब दैनिक रूपमा उज्यालो पाउन थालेका छन् ।
चिसो मौसमका कारण ब्याट्री संरक्षणका लागि राति ९ः०० देखि १०ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द गरी राति २ः०० बजेसम्म चार्ज गरिने व्यवस्था गरिएको वडाध्यक्ष बोहराले बताए । मिनिग्रिडबाट उत्पादित विद्युत् वितरणका लागि १ दशमलव ११३ किलोमिटर थ्री–फेज र ४३२ मिटर सिङ्गल–फेज प्रसारण लाइन निर्माण गरिएको छ ।
सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सरकारी कार्यालयहरूमा पनि सोही मिनिग्रिडबाट विद्युत् आपूर्ति भइरहेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत अमानुवल हक अन्सारीका अनुसार मिनिग्रिड निर्माणमा केन्द्रको रु चार करोड १३ लाख ३३ हजार १०२ लगानी रहेको छ भने स्थानीय उपभोक्ताबाट १० प्रतिशत श्रमदान गरिएको हो ।
यसअघि छाङरुमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् सेवा विस्तार गर्ने प्रयास भए पनि हिमपात, बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का कारण पटकपटक क्षति पुग्दा सेवा नियमित हुन सकेको थिएन । सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि घरघरमा उज्यालो पुगेको भन्दै स्थानीय बासिन्दा खुसी भएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार