सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कञ्चनपुरको मणिकाधाममा पहिलोपटक विद्युत् सेवा

जलसरोकार
बुधबार, फागुन १३, २०८२ | १३:२१:०५ बजे

 

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको मुडका (मणिका धाम) क्षेत्रमा पहिलोपटक नियमित विद्युत् सेवा विस्तार गरिएको छ । यसअघि साँझपख अँध्यारोमा पूजा–आराधना गर्न बाध्य भक्तजन अब उज्यालो वातावरणमा धार्मिक गतिविधिमा सहभागी हुन सक्ने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रले करिब ६५ लाख रुपैयाँ लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ वटा पोल जडान गरी ट्रान्सफर्मर स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको हो। पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ ।

विद्युत् सेवा विस्तारसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर तथा आसपासका क्षेत्रमा बल्ब जडान गरी क्षेत्रलाई झिलीमिली बनाइएको छ । यसअघि साँझ ढल्केपछि पूजा, आरती तथा अन्य धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेकामा अब सहज वातावरण बनेको स्थानीयवासी बताउँछन् ।

वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले विद्युत् सेवा विस्तारले धार्मिक गतिविधि सञ्चालनमा उल्लेखनीय सहजता ल्याएको बताए । “पहिले अँध्यारोका कारण भक्तजनले सास्ती खेप्नुपथ्र्यो, अब मन्दिर परिसर उज्यालो बनेको छ,” उनले भने, धाम क्षेत्रका पूर्व अध्यक्ष भरतबहादुर ऐरका अनुसार विद्युत् सेवा पुगेपछि रातिको समयमा पनि सत्सङ्ग, भजनकीर्तन तथा अन्य धार्मिक कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने भएको छ । नयाँ बनेको भजनघर र मन्दिर वरपर बल्ब जडान गरी धाम क्षेत्र आकर्षक बनाइएको उनको भनाइ छ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने मणिका धाममा हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन परम्परागत मेला (जाँत) लाग्ने गर्दछ । यस वर्ष फागुन १३ र १४ गते आयोजना हुने मेलामा नेपाल र भारतबाट हजारौँ दर्शनार्थी सहभागी हुने अपेक्षा गरिएको छ। बैजनाथ बाबाको दर्शन गर्दा इच्छित फल प्राप्त हुने जनविश्वासका कारण धाममा श्रद्धालुको भीड लाग्ने गरेको छ।

विद्युत् सेवा विस्तारसँगै यस वर्षको मेलामा रातिको समयमा आउने भक्तजनले अँध्यारोको सास्ती खेप्न नपर्ने भएको छ। उज्यालो वातावरणले धाम क्षेत्रलाई थप आकर्षक बनाएको स्थानीयले बताएका छन् । यसले धार्मिक कार्यक्रम, मेला सञ्चालन र स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । झिलीमिली उज्यालोसँगै मणिका धाम अब धार्मिक आस्था मात्र होइन, पर्यटन प्रवद्र्धनको दृष्टिले पनि थप सशक्त गन्तव्य बन्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : बुधबार, फागुन १३, २०८२ | १३:२१:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया