सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मुस्ताङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध

जलसरोकार
सोमबार, असोज १२, २०८३ | १५:०८:३० बजे

 

मुस्ताङ : निरन्तरको वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले विद्युत् संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङमा शनिबार रातिदेखि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

पर्वतको डिमुवाबाट मुस्ताङतर्फ आउने ३३ केभी विद्युत् प्रसारण लाइनका खम्बामा बाढीपहिरो तथा नदी कटानले क्षति पुर्‍याएपछि विद्युत् प्रसारण अवरुद्ध भएको हो। म्याग्दी र पर्वत खण्डमा विद्युत् संरचनामा क्षति पुगेपछि म्याग्दीको दाना सबस्टेसनसमेत चार्ज हुन नसक्दा बन्द भएको जोमसोमस्थित विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । 

विद्युत्  सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि म्याग्दीको उत्तरी क्षेत्रको अवस्थाबारे जानकारी लिनसमेत कठिनाइ भएको उनले बताए । 

यसैबीच, बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको मर्मत गरी आइतबार साँझसम्म म्याग्दीको बेनीसम्म विद्युत् प्रसारण सेवा सञ्चालनमा ल्याइएको छ। ३३ केभी प्रसारण लाइन र दाना सबस्टेसनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट प्राविधिक टोली त्यसतर्फ पठाइएको प्रमुख थकालीले बताए । 

मुस्ताङको थासाङ गाउँपालिका–३ का केही स्थानमा रुख ढलेर विद्युत्का खम्बामा समेत क्षति पुगेको छ। मौसम खुलेपछि उक्त क्षेत्रको विद्युत् प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ। अवरुद्ध विद्युत् सेवा आज साँझसम्म नियमित गर्ने गरी टोली कार्यस्थलमा खटिएको थकालीले बताए । 

बाढीपहिरो र नदी कटानका कारण विद्युत्‌सँगै फाइबर इन्टरनेटको प्रसारण लाइनमा समेत क्षति पुगेपछि मुस्ताङमा पछिल्लो ३६ घण्टादेखि इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ।

 

प्रकाशित मिति : सोमबार, असोज १२, २०८३ | १५:०८:३० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया