बिजुलीका खम्बा पुगे, पुगेन बिजुली, एक हजार बढी घर अझै अन्धकारमा
जलसरोकार
अमरगढी (डडेल्धुरा) : डडेल्धुराको भागेश्वर गाउँपालिकाअन्तर्गत लेकुडा गाउँका सयौँ घरपरिवार वर्षौँदेखि विद्युत् सेवाको प्रतीक्षामा छन् । गाउँसम्म विद्युत्का खम्बा गाडिए पनि हालसम्म बत्ती नबलेको स्थानीयवासीले गुनासो गरेका छन् ।
स्थानीय डम्मरी जोशीका अनुसार चुनावका बेला पटक–पटक विद्युत् आपूर्तिको आश्वासन दिइए पनि कार्यान्वयन हुन सकेको छैन । “खम्बा गाडिएको धेरै भयो, तर बिजुली आएन,” उनले भने, “अहिले ती खम्बा कपडा सुकाउने र घाँस राख्ने थामो जस्तै बनेका छन् ।”
यस्तै, भागेश्वर गाउँपालिकाकै ओडाखानका भिमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइमा गम्भीर असर परेको बताए । उनका अनुसार मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको छ भने सोलार बत्ती पनि घाम लागेको दिन मात्र चल्ने भएकाले दैनिकी कष्टकर बनेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका अनुसार जिल्लाभर अझै एक हजार २१ घरधुरीमा विद्युत् पुगेको छैन । जिल्लाका सातवटै स्थानीय तहमा केही न केही बस्ती अझै विद्युत् पहुँचबाहिर छन् ।
सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रै ६० घरधुरी अन्धकारमा छन् भने परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा अझै विद्युत् सेवा पुगेको छैन ।
त्यसैगरी, आलिताल गाउँपालिकामा १८९, भागेश्वर गाउँपालिकामा १४८, नवदुर्गा गाउँपालिकामा ८५, अजयमेरु गाउँपालिकामा १०० र गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै पनि विद्युत् सेवाबाट वञ्चित छन् ।
वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् विस्तार भइसकेको छ । बाँकी घरधुरीमा पनि सबै नागरिकलाई विद्युत् पहुँचमा ल्याउने लक्ष्यअनुसार काम भइरहेको उनले बताए ।
तर, विद्युत् नपुगेका बस्तीका नागरिक भने अझै टुकी र सोलारकै भरमा दैनिकी चलाउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विद्युत् विस्तार हुन नसक्दा विकासको अनुभूति नपाएको स्थानीयको गुनासो छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तीन दिनपछि सेयर बजारमा सामान्य सुधार, ३.२७ अङ्कले बढ्दा घट्यो कारोबार
-
बिजुलीका खम्बा पुगे, पुगेन बिजुली, एक हजार बढी घर अझै अन्धकारमा
-
सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशतले वृद्धि
-
किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत
-
बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी