बिजुलीका खम्बा पुगे, पुगेन बिजुली, एक हजार बढी घर अझै अन्धकारमा
जलसरोकार
अमरगढी (डडेल्धुरा) : डडेल्धुराको भागेश्वर गाउँपालिकाअन्तर्गत लेकुडा गाउँका सयौँ घरपरिवार वर्षौँदेखि विद्युत् सेवाको प्रतीक्षामा छन् । गाउँसम्म विद्युत्का खम्बा गाडिए पनि हालसम्म बत्ती नबलेको स्थानीयवासीले गुनासो गरेका छन् ।
स्थानीय डम्मरी जोशीका अनुसार चुनावका बेला पटक–पटक विद्युत् आपूर्तिको आश्वासन दिइए पनि कार्यान्वयन हुन सकेको छैन । “खम्बा गाडिएको धेरै भयो, तर बिजुली आएन,” उनले भने, “अहिले ती खम्बा कपडा सुकाउने र घाँस राख्ने थामो जस्तै बनेका छन् ।”
यस्तै, भागेश्वर गाउँपालिकाकै ओडाखानका भिमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइमा गम्भीर असर परेको बताए । उनका अनुसार मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको छ भने सोलार बत्ती पनि घाम लागेको दिन मात्र चल्ने भएकाले दैनिकी कष्टकर बनेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका अनुसार जिल्लाभर अझै एक हजार २१ घरधुरीमा विद्युत् पुगेको छैन । जिल्लाका सातवटै स्थानीय तहमा केही न केही बस्ती अझै विद्युत् पहुँचबाहिर छन् ।
सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रै ६० घरधुरी अन्धकारमा छन् भने परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा अझै विद्युत् सेवा पुगेको छैन ।
त्यसैगरी, आलिताल गाउँपालिकामा १८९, भागेश्वर गाउँपालिकामा १४८, नवदुर्गा गाउँपालिकामा ८५, अजयमेरु गाउँपालिकामा १०० र गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै पनि विद्युत् सेवाबाट वञ्चित छन् ।
वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् विस्तार भइसकेको छ । बाँकी घरधुरीमा पनि सबै नागरिकलाई विद्युत् पहुँचमा ल्याउने लक्ष्यअनुसार काम भइरहेको उनले बताए ।
तर, विद्युत् नपुगेका बस्तीका नागरिक भने अझै टुकी र सोलारकै भरमा दैनिकी चलाउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विद्युत् विस्तार हुन नसक्दा विकासको अनुभूति नपाएको स्थानीयको गुनासो छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै