मधेसमा घट्यो विद्युत् चुहावट, दुई महिनामै २० करोडभन्दा बढी बक्यौता असुल
जलसरोकार
जनकपुरधाम : मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ । नेपाल विद्युत् प्राधिकरणले हुकिङ नियन्त्रण, ग्राहकको बिलिङ तथा विद्युत् रिडिङमा सुधार र लामो समयदेखि बन्द रहेका मिटर परिवर्तनलाई तीव्रता दिएपछि प्रदेशमा विद्युत् चुहावट घट्दै गएको हो ।
नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युत् चुहावट १ दशमलव ६१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउन र भदौमा २२ दशमलव ५६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्षको सोही अवधिमा २० दशमलव ९५ प्रतिशतमा झरेको हो ।
चालु आर्थिक वर्षको साउनमा प्रदेशमा २० दशमलव ०९ प्रतिशत र भदौमा २१ दशमलव ७६ प्रतिशत विद्युत् चुहावट भएको थियो । गत आर्थिक वर्षको साउनमा २५ दशमलव ६७ प्रतिशत र भदौमा २३ दशमलव ५२ प्रतिशत चुहावट भएको थियो ।
वितरण केन्द्रअनुसार भने विद्युत् चुहावटको अवस्था फरक–फरक रहेको छ । सबैभन्दा कम चुहावट बाराको सिमरा वितरण केन्द्रमा २ दशमलव ९४ प्रतिशत रहेको छ भने सबैभन्दा बढी रौतहटको मौलापुर वितरण केन्द्रमा ४७ दशमलव ७७ प्रतिशत पुगेको छ ।
प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर शम्भु कुसियैतका अनुसार रौतहटको मौलापुर र गौर तथा सर्लाहीको मलङ्गवा क्षेत्रमा विद्युत् चुहावटको समस्या बढी देखिएको छ । औद्योगिक ग्राहकको सङ्ख्या धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रमा भने चुहावट तुलनात्मक रूपमा कम रहेको उनले बताए ।
यसैबीच, लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध प्राधिकरणले सञ्चालन गरेको लाइन काट्ने अभियानबाट बक्यौता असुलीसमेत बढेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै महसुल नतिर्ने आठ हजार ७८२ ग्राहकको विद्युत् लाइन काटिएको छ ।
लाइन काटिएकामध्ये आठ हजार २३४ ग्राहकले बक्यौता महसुल बुझाएर पुनः विद्युत् जडान गराएका छन् । उनीहरूबाट प्राधिकरणले रु २० करोड नौ लाख ७७ हजार बक्यौता असुल गरेको जनाएको छ ।
मिटर लिएर विद्युत् उपभोग गर्ने तर लामो समयसम्म महसुल नतिर्ने प्रवृत्ति बढेपछि लाइन काट्ने अभियानलाई तीव्रता दिइएको प्रमुख कुसियैतले बताए । गत आर्थिक वर्षमा मात्रै ४२ हजार ६६४ ग्राहकको विद्युत् लाइन काटिएको थियो । त्यस क्रममा रु एक अर्ब ४७ लाख बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।
मधेस प्रदेशमा औद्योगिक ग्राहकको हिस्सा ५९ प्रतिशत र घरेलु ग्राहकको हिस्सा ३१ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । प्रदेशका ९९ दशमलव ९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको र बाँकी क्षेत्रमा पनि विद्युत् विस्तारको काम भइरहेको प्रमुख कुसियैतले बताए ।
मधेस प्रदेशका विभिन्न जिल्लामा सिँचाइतर्फ भने करिब १० प्रतिशत मात्रै विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामा लगानी भित्र्याउन विश्वासिलो नियमन आवश्यक : मन्त्री श्रेष्ठ
-
ऋण तिर्नै ऋणको सहारा, सरकारको आन्तरिक ऋण ४ वर्षमै २८ प्रतिशत बढ्यो
-
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
-
७३ प्रतिशत अझै काउन्टरमै, विद्युत् महसुल डिजिटल माध्यमबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल
-
रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
-
मधेसमा घट्यो विद्युत् चुहावट, दुई महिनामै २० करोडभन्दा बढी बक्यौता असुल