प्राधिकरणमा विद्युत् चुहावट मात्रै १२ अर्ब ७० करोड रुपैयाँ बराबर
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणमा गत चैत १२ गतेदेखि नयाँ नेतृत्व आएपछि गत वर्ष २०८१÷८२ मा यसको नाफामा एक्कैचोटि ५ अर्ब ३९ करोड रुपैयाँले कमी आयो । कारण देखाइयो, अति फितलो— ब्याज तिर्नुपर्यो, डलरको भाउ बढ्यो आदि ।
गत वर्ष विद्युत् चुहावट पनि अघिल्लो वर्षको भन्दा शून्य दशलमब ८ प्रतिशतले मात्र बढेको देखाइयो । उक्त चुहावट १०.३९ प्रतिशत रहेको भनियो ।
यो प्रतिशत चुहावटलाई कुल ऊर्जा (युनिट) मा लैजाने हो भने गत वर्ष प्राधिकरणको प्रणालीमा १ अर्ब ३१ करोड २७ लाख ६२ हजार युनिट हुन्छ । यसमा प्राविधिक र अप्राविधिक (चोरी) दुबै प्रकारको चुहावट समावेश छ ।
प्राधिकरणले गत भदौ १ गते प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार उसको प्रतियुनिट औसत आम्दानी ९ रुपैयाँ ६८ पैसा छ । यस आधारमा प्राधिकरणले गुमाएको कुल बिजुली (१ अर्ब ३१ करोड २७ लाख ६२ हजार युनिट) लाई प्रतियुनिट आम्दानीले गुणा ग¥यो भने १२ अर्ब ७० करोड ७५ लाख रुपैयाँ हुन आउँछ ।
अर्थात् विद्युत् चुहावटबाट मात्रै प्राधिकरणले झन्डै १३ अर्ब रुपैयाँ घाटा परेको छ । यो चुहावट नभइदिएको भए प्राधिकरणको कुल नाफा (करअघिको) २१ अर्ब रुपैयाँभन्दा बढी हुन्थ्यो ।
जडित क्षमतामा चुहावट हेर्ने हो भने ३७३ मेगावाट हुन आउँछ । प्राधिकरणको गत वर्षको अन्त्यसम्ममा उसको आफ्नै, सहायक कम्पनी, निजी क्षेत्र, सौर्य र तापीय गरी कुल जडित क्षमता ३५९१ मेगावाट थियो । यसमा १०.३९ प्रतिशत चुहावटको हिसाब गर्दा ३७३ मेगावाट हुन आउँछ ।
एक मेगावाटको आयोजना निर्माण गर्न अहिलेको चलनचल्ती दरअनुसार २० करोड रुपैयाँ पर्ने गरेको मानिन्छ । यस हिसाबमा ७४ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेर बनाएको बिजुली खेर गएको मान्न सकिन्छ ।
विकसित देशहरुमा सामान्यतया विद्युत् चोरी हुँदैन । त्यहाँ प्राविधिक चुहावट मात्रै हुने गर्छ ।
इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए) अनुसार अमेरिकमा प्रसारण तथा वितरण चुहावट ५ प्रतिशत छ । उच्च दक्ष प्रसारण र वितरण प्रणाली भएका धेरैजसो देमा यस्तो चुहावट पाँच प्रतिशत वा सोभन्दा कममा झारिएको हुन्छ ।
नेपालजस्ता अल्पविकसित देशमा प्राविधिक चुहावट भने १० देखि १५ प्रतिशत हुने अनुमान छ । प्राविधिक चुहावट कम गर्न प्रसारण तथा वितरण संरचनामा व्यापक लगानी आवश्यक पर्छ । प्राधिकरणले यसअघि प्राविधिक चुहावट अन्तर्राष्ट्रिय मापदण्डको हाराहारीमा कायम गर्न प्रसारण तथा वितरण क्षेत्रमा ११ खर्ब रुपैयाँ आवश्यक पर्ने हिसाबले निकालेको थियो ।
प्राधिकरणमा पहिलोपटक हितेन्द्रदेव शाक्य आएको वर्ष विद्युत् चुहावट २ प्रतिशतले बढेको थियो । एक प्रतिशत चुहावट बढ्दा वा घट्दा प्राधिकरणको आम्दानीमा एक अर्ब रुपैयाँले तलमाथि पर्ने गर्छ ।
गत असार मसान्तसम्मको तथ्यांक लिएर चुहावटको हिसाब निकालेको प्राधिकरणमा नयाँ नेतृत्व आएको चार महिनामै करिब एक प्रतिशतले चुहावट वृद्धि भएको पाइएको छ ।
प्राधिकरणका सात प्रादेशिक दुई डिभिजन कार्यालयमध्ये सबैभन्दा बढी बिजुली चुहावट मधेश प्रदेशमा छ । गत आवमा मधेश प्रदेशले २ अर्ब ९२ करोड ८२ लाख युनिट बिजुली प्राप्त गरेको थियो । त्यसमध्ये उसले २ अर्ब ४३ करोड ७ लाख युनिट बेचेर ३९ करोड ७४ लाख युनिट चुहावट भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी