सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु
जलसरोकार
कास्की : कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ। सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको छ।
आयोजनाका निर्देशक दीपक बरालका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि विद्युत् उत्पादन सुरु गरिएको हो। प्रारम्भिक रूपमा आयोजना १५ दिनसम्म परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादित विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनुका साथै आयोजना तथा उपकरणहरूको प्राविधिक परीक्षण गरिनेछ।
विसं २०७८ मंसिरमा निर्माण सुरु गरिएको आयोजनाले गत मंसिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो। तर प्रसारणलाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा आयोजनाको काम निर्धारित समयभन्दा पछि धकेलिएको निर्देशक बरालले बताए। प्रसारणलाइनका लागि निर्माण गरिएका पाँचमध्ये तीन टावर वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृति प्राप्त गर्न समय लागेको उनको भनाइ छ।
आयोजनाको बाँध पोखरा–३३ को तिकलाङ क्षेत्रमा निर्माण गरिएको छ। त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्गमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइएको छ। विद्युत्गृहमा ११/११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएको छ।
कुल पाँच अर्ब पाँच करोड रुपैयाँ लगानी रहेको आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको जनाएको छ।
सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिरहेको छ। हाल सेती नदी क्षेत्रमा आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रारम्भिक चरणमा रहेका तथा केही आयोजना निर्माणाधीन अवस्थामा छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको आग्रह
-
रसुवाको बाढीपछि ऊर्जा मन्त्रालय सक्रिय, उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकता
-
रसुवा बाढीको असर शेयर बजारमा, जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट
-
भोटेकोशी–त्रिशूली बाढीले १९ पुल र ४० किलोमिटर सडकमा क्षति
-
रसुवामा भीषण बाढीको असर १३ जलविद्युत् आयोजनामा, ७४८ मेगावाट क्षमता प्रभावित
-
तिब्बतबाट आएको भोटेकोशी बाढीले विद्युत् प्रणालीमा ठूलो धक्का, ४३० मेगावाट बिजुली विच्छेद