लाङटाङको क्यान्जिन गुम्बामा पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली
जलसरोकार
रसुवा । रसुवाको प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिन गुम्बा तथा आसपासका क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ। लामो समय स्थानीय स्रोतमा निर्भर रहेको लाङटाङ क्षेत्रमा अब नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् आपूर्ति सुरु भएको हो।
नेपाल विद्युत् प्राधिकरण रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने लाङटाङको क्यान्जिन गुम्बा क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जोडिएसँगै स्थानीयवासी, होटल व्यवसायी तथा पर्यटकले नियमित विद्युत् सेवा पाउन थालेका छन्।
प्राधिकरणले गोसाइँकुण्ड, लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि करिब ९ करोड रुपैयाँ लगानी गरेको केन्द्र प्रमुख तामाङले जानकारी दिए ।
केन्द्रीय प्रसारण लाइन पुगेपछि लाङटाङ क्षेत्रका करिब २०० घरधुरी राष्ट्रिय प्रसारण प्रणालीको बिजुलीबाट लाभान्वित भएका छन्। विद्युत् सेवा विस्तारसँगै होटल, पर्यटन व्यवसाय तथा स्थानीय उद्योग सञ्चालनमा सहजता आएको छ।
लाङटाङ क्षेत्रमा विद्युत् पुगेपछि होटल व्यवसायी, स्थानीय बासिन्दा र पर्यटकमा उत्साह बढेको छ। विशेषगरी क्यान्जिन भ्यालीमा सञ्चालन भइरहेका चिज उद्योग, बेकरी उद्योग तथा अन्य साना घरेलु उद्योगलाई नियमित विद्युत् आपूर्तिले ठूलो राहत पुगेको व्यवसायीहरू बताउँछन्। ठूला होटल तथा पर्यटन व्यवसाय सञ्चालनमा समेत विद्युत् अभावका कारण हुने समस्या हट्ने अपेक्षा गरिएको छ।
क्यान्जिन गुम्बा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको प्रसिद्ध हिमाली बस्ती हो। समुद्री सतहबाट करिब ३ हजार ८७० मिटर उचाइमा रहेको यो क्षेत्र लाङटाङ पदयात्राको प्रमुख गन्तव्यमध्ये एक मानिन्छ।
यहाँबाट हिमाल, हिमनदी र प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले देश–विदेशका पर्यटकको आकर्षण बढ्दै गएको छ। विद्युत् सुविधा पुगेसँगै पर्यटन पूर्वाधार थप मजबुत हुने अपेक्षा गरिएको छ।
लघु जलविद्युत् आयोजना मर्मत गरिने
यसअघि क्यान्जिन क्षेत्र र आसपासमा कादुरी फाउण्डेसनले निर्माण गरेको १०० किलोवाट क्षमताको च्योहा खोला लघु जलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो। तर उक्त आयोजनामा समस्या आएपछि मर्मतमा लामो समय लाग्ने देखिएपछि वडा कार्यालयको समन्वयमा प्राधिकरणको केन्द्रीय लाइन जोडिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले बताए ।
उनका अनुसार लघु जलविद्युत् आयोजनालाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइने र आवश्यक प्रक्रिया पूरा गरी प्राधिकरणको प्रसारण लाइनसँग ‘सिङ्क्रोनाइज’ गर्ने व्यवस्था मिलाइनेछ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् नपुगेका तथा पर्यटकीय महत्व बोकेका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तारलाई प्राथमिकता दिएको छ। गत वर्ष मात्रै रसुवाको अर्को धार्मिक पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको थियो।
लाङटाङमा विद्युत् पुगेपछि पर्यटन, स्थानीय उत्पादन र आर्थिक गतिविधि विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने
-
कञ्चनपुरको पुनर्वासमा ३३/११ केभी सबस्टेशन सञ्चालन
-
जलविद्युत्ले फेरियो अन्नपूर्णको मुहार, विकाससँगै वातावरणीय चुनौती पनि चुलिँदै