जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

साउनमा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात

जलसरोकार
मंगलबार, भदौ ११, २०८१ | १४:२१:३४ बजे

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८/९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरुमा  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने गरेता पनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नु पर्ने अवस्था नरहेको उल्लेख गरे ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरु अभियानकै रुपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिने छ ।’
घिसिङले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगिरहेको बताए  ।
‘हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नु परेता पनि आयातको परिमाण क्रमश: घट्दै जाने छ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं,’उनले भने ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएन बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो ।  यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाहरुबाट उत्पादित १०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।
१० जलविद्युत आयोजनाबाट उत्पदित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिने छ ।
हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिश्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रुपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रुपमा ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।  
 

प्रकाशित मिति : मंगलबार, भदौ ११, २०८१ | १४:२१:३४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया