कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नतिर्ने १८ उद्योगको बिजुली काटियो

जलसरोकार
शनिबार, कात्तिक ०८, २०८२ | १४:३९:०६ बजे

 

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप उद्योगहरूमा पनि कारबाही गरेको हो ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्डस्ट्रीज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।

यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति काटिएको थियो ।

प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रङ्कलाइनको महसुल नतिर्ने उद्योगहरूको बक्यौता रकम आठ अर्ब रुपैयाँभन्दा बढी छ । तीमध्ये १४ उद्योगले किस्ताबन्दीमा तिर्न सुरु गरेका छन् भने छ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । हेटौडा र उदयपुर सिमेन्ट उद्योगको पनि बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

डेडिकेटेड र ट्रङ्कलाइन महसुल उठाउने विषय २०७५ सालदेखि नै विवादमा रहँदै आएको छ । तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा गठन भएको अध्ययन समितिले बक्यौता उठाउने सिफारिस गरे पनि उद्योगहरूले आफूहरूले ती लाइन प्रयोग नगरेको भन्दै महसुल तिर्न अस्वीकार गर्दै आएका छन् ।

उद्योगी–व्यवसायी र प्राधिकरणबीचको यो विवाद अहिले अदालत, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।

प्राधिकरणले गत असोज १२ गते उद्योगहरूलाई २१ दिनभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । सो अवधिसम्म बक्यौता नतिरेपछि विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ अनुसार लाइन काटिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : शनिबार, कात्तिक ०८, २०८२ | १४:३९:०६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया