सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनमा असार २३ देखि विद्युत् परीक्षण सुरु हुने

जलसरोकार
बुधबार, असार १७, २०८३ | १६:०२:५२ बजे

 

काठमाडाैं : नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत मार्कीचोक–भरतपुर खण्डमा आगामी असार २३ गतेदेखि विद्युत् परीक्षण सेवा सुरु गर्ने भएको छ। राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने उद्देश्यले २२० केभी क्षमताको विद्युत् प्रवाह गरी प्रसारण लाइनको परीक्षण गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी परीक्षण गरिने जानकारी दिएको हो।

युरोपियन बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भइसकेको छ। आयोजना प्रमुख नारायण रेग्मीका अनुसार अब उक्त प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न परीक्षण प्रक्रिया अघि बढाइएको हो।

प्राधिकरणले विद्युत् प्रवाह सुरु भएपछि प्रसारण लाइन तथा त्यससँग सम्बन्धित संरचनामा उच्च भोल्टेज रहने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। टावरमा नचढ्न, कुनै वस्तुले प्रसारण लाइन वा टावर नछुन, टावर वरपर अनावश्यक रूपमा नजान तथा चौपायालाई टावर नजिक चराउन वा छाड्न नदिन अनुरोध गरिएको छ।

प्रसारण लाइनको प्रभाव क्षेत्र तनहुँ, गोरखा र चितवन जिल्लाका विभिन्न स्थानमा पर्नेछ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ३, ४ र ५, गोरखा नगरपालिका–१४ को याङ्कोट क्षेत्र तथा चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत जुगेडी र चौकीडाँडा तथा इच्छाकामना गाउँपालिका–६ को रिग्दीखोला क्षेत्र प्रसारण लाइनको रुटभित्र पर्छन्।

उल्लेखनीय रूपमा, मार्कीचोक–भरतपुर खण्डको निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब–कन्ट्र्याक्टरबाट समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले आफैं सब–कन्ट्र्याक लिएर निर्माण कार्य सम्पन्न गरेका थिए।

यस प्रसारण लाइन सञ्चालनमा आएपछि मस्र्याङ्दी करिडोर क्षेत्रमा उत्पादन हुने जलविद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : बुधबार, असार १७, २०८३ | १६:०२:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया