अहोरात्र काम गरिरहेका सीइओलाई हटाएर दूधकोशीलाई अन्यौलमा पारियो : कुलमान घिसिङ


अस्टिन (अमेरिका) : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले एशियाली विकास बैंकको सहायतामा निर्माण गर्न लागिएको दूधकोशी जलाशययुक्त आयोजना (६७० मेगावाट) को लगानी जुटाउनु पूर्वका कामहरु अन्तिम चरणमा पुगिरहेको अवस्थामा अहोरात्र खटिरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर प्राधिकरण व्यवस्थापनले आयोजनालाई अन्यौलमा पार्ने काम गरेको बताएका छन् ।
‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा काम गर्न सक्ने योग्य व्यक्तिहरुलाई ‘कुलमानको मान्छे’ भन्दै हटाउँदा आयोजना अन्यौल मात्र नभई विद्युत् आपूर्ति व्यवस्थापनसमे गर्न नसकेको टिप्पणी गरे ।
प्राधिकरणले दूधकोसीका सीइओ विमल गुरुङलाई गत जेठ ६ गते हटाएको थियो । गुरुङ तिनै इन्जिनियर हुन् जसले चिलिमे (२२ मेगावाट), कालीगण्डकी ‘ए’ (१४४ मेगावाट) र माथिल्लो तामाकोसी (४५६ मेगावाट) सफलतापूर्वक सम्पन्न गरेका थिए ।
गुरुङको लगाव, मेहनेत र रुचि देखेर घिसिङले आफू कार्यकारी निर्देशक हुँदा दूधकोसीको सीइओ बनाएका थिए । गुरुङ आएपछि दातृ निकाय एडीबीको गाइडलाइनअनुसार निर्माणअघिका सम्पूर्ण काम करिब पूरा गरिसकेका थिए ।
ऊर्जा मन्त्री दीपक खड्काको निर्देशमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुरुङलाई हटाएका थिए । गुरुङलाई हटाउन ऊर्जा सचिव सुरेश आचार्यले गत माघ ८ गते तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई लिखित पत्राचार गरेका थिए । तर घिसिङले त्यतिखेर मानेका थिएनन् ।
‘नयाँ व्यवस्थापन आएपछि विगतमा सुरु गरिएको सही व्यक्तिलाई सही ठाउँमा लत्याएर राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो,’ घिसिङले भने, ‘देशभरिका विद्युत् प्रणाली सञ्चालन गर्ने भार प्रेषणजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो, अहिले चल्दै नचल्ने अवस्था आएपछि पुनः उही व्यक्तिलाई लैजानु पर्ने अवस्था आयो, त्यसैले नेपालमा अहिले देखिएको विद्युत आपूर्तिको समस्या स्रोत नभएर नभई व्यवस्थापन गर्न नसकेर हो, व्यवस्थापनको पूर्ण असफलता हो ।’
अहिलेका कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको प्रणाली सञ्चालन विभाग (साविकको भार प्रेषण केन्द्र) का निर्देशक चन्दनकुमार घोषलाई गत चैत १८ गते (शाक्य भएको एक साता नबित्दै) हटाएर उनको ठाउँमा रञ्जु पाण्डेलाई लगेका थिए । पाण्डेलाई पुनः त्यहाँबाट हटाई पुनः घोषलाई नै लगेका थिए ।
विद्युत् उत्पादन पर्याप्त रहेता पनि प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरि विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरे ।
उनले घाटमा रहेको संस्थालाई नाफामा लगेको, करिब–करिब सबैको घरमा बिजुली पुर्याएको, विगतमा लोडिसेडिङको समयमा डेडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत् लिएका औद्योगिक ग्राहकको प्रिमियम महसुल बक्यौता उठाउन प्रयास गरिरहेको अवस्थामा सरकारले अपमानपूर्वक आफूलाई हटाएको उल्लेख गरे ।
लोडसेडिङ अन्त्य कुनै जादू नभएर प्राधिकरणको कार्यकारी निर्देशकको दायित्व इमान्दारपूर्वक निर्वाह गर्दा मुलुकबाट लोडसेडिङ अन्त्य भएको उल्लेख गर्दै घिसिङले यसमा तत्कालीन प्रधानमन्त्री, ऊर्जा मन्त्री, प्राधिकरणका कर्मचारी आम उपभोक्ता, विदेशमा रहेका नेपालीकोे साथ र हौसलाले गर्दा थप काम गर्न प्रेरित गरेको बताए ।
‘बिजुलीको उज्यालो पाएका छौं, तर अझै धेरै ठाउँमा अँध्यारो छ, बत्तीको उज्यालोले मात्र हुँदैन भनेर देशमा व्याप्त अँध्यारो हटाउन केही गरौं भन्ने सोच बनाएर उज्यालो नेपाल अभियान चलाएका हौं’, उनले भने ।
देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल अभियान’मा जोडिन उनले आह्वान गरे ।
उनले ‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान भएको जानकारी दिए ।
विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न घिसिङले यसअघि मध्यपूर्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमण गरेका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
बबई नदीमा जलसतहले खतराको तह पार गर्यो, बर्दिया–दाङ उच्च जोखिममा
-
दाङ, बाँके र बर्दियामा अति भारी वर्षा, बाढी–डुबानको जोखिम उच्च
-
सप्तकोशीको बहाव बढ्दा उदयपुरको बेलका क्षेत्र उच्च जोखिममा
-
महाकाली सन्धिको तीन दशकपछि पनि दोधारा–चाँदनी सिँचाइ नहर अन्योलमै
-
देशभर बदलीसहित कोही स्थानमा भारी वर्षाको सम्भावना
-
गैरआवासीय नेपाली संघको गम्भीर आपत्ति : ‘आईएसआईएन दोहोरो व्यवस्था लगानीमैत्री होइन’