सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

म्याग्दीमा एक वर्षमा ५ सयभन्दा बढी घरमा खानेपानी, ९१ हेक्टरमा सिँचाइ

जलसरोकार
मंगलबार, भदौ ०९, २०८३ | ०९:१६:५४ बजे

 

म्याग्दी : गण्डकी प्रदेश सरकारले म्याग्दीमा सञ्चालन गरेका विकास आयोजनामार्फत पछिल्लो एक वर्षमा ५ सयभन्दा बढी घरधुरीमा खानेपानी र ९१ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२/८३ मा २२ वटा सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी उक्त सुविधा विस्तार गरेको हो।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाका अनुसार निर्माण सम्पन्न भएका आयोजनाबाट ५ सय १८ घरधुरीमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा पुगेको छ भने ९१ हेक्टर खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा उपलब्ध भएको छ।

सिँचाइ सुविधा विस्तारका क्रममा ६ हजार ५ सय ८० मिटर पक्की नहर, ५ हजार ९ सय मिटर पाइपलाइन र ५९ वटा विभिन्न संरचना निर्माण गरिएको कार्यालयले जनाएको छ। यसबाट समयमै रोपाइँ गर्न तथा खेतीपातीका लागि आवश्यक पानीको पहुँच सहज भएको छ।

त्यस्तै, खानेपानीतर्फ १२ किलोमिटर ७ सय ७० मिटर मुख्य पाइपलाइन र ६९ दशमलव १४ किलोमिटर शाखा पाइपलाइन निर्माण गरिएको छ। ३२० घनमिटर क्षमताका २० वटा पानी सङ्कलन ट्याङ्की तथा १७८ वटा अन्य संरचना निर्माण गरी ग्रामीण बस्तीमा खानेपानीको पहुँच विस्तार गरिएको हो।

किसानको खेतसम्म पुग्यो सिँचाइ

कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका सिँचाइ आयोजनाबाट किसान प्रत्यक्ष लाभान्वित भएका छन्।

रघुगङ्गा गाउँपालिका–३ मा राँखुपिप्ले, वडा नं १ मा बृहत् बेगखोला र बाँदुक सिँचाइ योजना सम्पन्न भएका छन्। मालिका गाउँपालिका–५ मा गौरखोला र वडा नं ७ मा बेल्फी लुर्बाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ।

मङ्गला गाउँपालिका–२ मा तल्लो ओखलढुङ्गा गडहरे, रणबाङ र घोरेनी कोत्रेबाङ सिम सिँचाइ योजना तथा वडा नं ४ मा बुकेनी सिँचाइ योजना सम्पन्न भएका छन्। अन्नपूर्ण गाउँपालिका–७ मा औल सिँचाइ योजना, बेनी नगरपालिका–१ मा १९२५ साले सिँचाइ योजना र वडा नं २ मा बगरफाँट सतह तथा भूमिगत सिँचाइ योजना पनि निर्माण सम्पन्न भएका छन्।

यस्तै, रघुगङ्गा–३ मौवाफाँटमा घट्टेखोला पुर्नढाँड, मङ्गला–१ मा तुसारेपानी काउले पैयुँपाटा, वडा नं २ मा नेवारेखोला, वडा नं ३ मा अर्जेखोला आरबाङ, सिमकुना कस्केरी सातबिसे तथा झ्याप्रेखोला बिसौना सिँचाइ योजना निर्माण भएका छन्।

बेनी नगरपालिका–९ घतानमा बाहुनपँधेरा पोखरी, वडा नं ४ मा राहुखोला र सामतुङ सोता तथा मङ्गला–५ अर्मनमा पिपलबोट शेरा र महखोला सिँचाइ योजना सम्पन्न भएका छन्। मालिका गाउँपालिका–१ मा खोप्ती सिँचाइ योजना पनि निर्माण सम्पन्न भएको कार्यालयका इन्जिनियर विश्वासकुमार बस्नेतले जानकारी दिए । 

खानेपानीमा पनि उल्लेख्य विस्तार

एक वर्षको अवधिमा जिल्लाका विभिन्न बस्तीमा खानेपानीका आयोजना पनि सम्पन्न भएका छन्। चिमखोला भगवती बृहत् खानेपानी, भुकभुके, तल्लो शिख, शिख उपल्लोगाउँ, ओखले, चिप्लेटी, एकपाटे, थाकनपोखरी, डम्मरा र चुत्रेनी खानेपानी योजना निर्माण सम्पन्न भएका छन्।

यसैगरी बिम तल्लो गाउँ लिफ्टिङ, खालखोला थाप्ले, कोसेपानी घोरेपानी र बगुवाखोला खानेपानी आयोजना पनि निर्माण सम्पन्न भएको कार्यालयका इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिए । 

नदी कटान रोक्न तटबन्ध

कार्यालयले खानेपानी र सिँचाइसँगै नदी नियन्त्रणका कामलाई पनि प्राथमिकता दिएको छ। अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान तथा बाढी रोकथामका लागि तटबन्ध निर्माण गरिएको छ।

चार वटा योजनामार्फत नदी कटान, बाढी तथा पहिरो नियन्त्रणका लागि २६ मिटर पक्की र ७५ मिटर ग्यावियन पर्खाल निर्माण गरिएको कार्यालयले जनाएको छ।

यसैबीच, मालिका गाउँपालिका–५ देवीस्थानको पन्थोकस्थित गौराखोला लघुजलविद्युत् परियोजनाको मर्मतसम्भार गरी १ सय ८० घरधुरीमा पुनः विद्युत् आपूर्ति गरिएको छ।

९ करोड ६४ लाख बजेट, ८ करोडभन्दा बढी खर्च

आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जातर्फ पुँजीगत शीर्षकमा ९ करोड ६४ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त बजेटमध्ये ८ करोड रुपैयाँभन्दा बढी खर्च भएको कार्यालयले जनाएको छ।

खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा क्षेत्रमा निर्माण भएका आयोजनाले ग्रामीण बस्तीका नागरिकको आधारभूत आवश्यकता पूरा गर्नुसँगै कृषि उत्पादन बढाउन र खेतीयोग्य जमिनको उपयोग विस्तार गर्न सहयोग पुगेको कार्यालयको भनाइ छ।

प्रकाशित मिति : मंगलबार, भदौ ०९, २०८३ | ०९:१६:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया