फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै
जलसरोकार
पाँचथर ः बाढीले डाइभर्सन बगाएपछि फिदिम–फालोट सडकखण्ड प्रभावित फेमे खोलामा पुनः अस्थायी डाइभर्सन निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
गत असोज १८ गते आएको बाढीले स्थायी डाइभर्सन समेत बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । अहिले पूर्वाधार विकास कार्यालय पाँचथरले २० वटा ह्युम पाइप जडान गर्दै नयाँ डाइभर्सन निर्माणको काम धमाधम अघि बढाइरहेको छ ।
कार्यालयका इञ्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माण कार्य सोमबारसम्ममा सक्ने लक्ष्य लिइएको छ । “काम अन्तिम चरणमा पुगेको छ, दुई दिनभित्र सवारीसाधन गुड्ने अवस्था बनाउने तयारीमा छौँ,” शाहले भने ।
फेमे खोला फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्छ । यो सडकले फिदिम नगरपालिका–१० देखि १३ नम्बर वडा र फालेलुङ गाउँपालिका–३ देखि ८ नम्बर वडालाई सदरमुकाम फिदिमसँग जोड्ने मुख्य मार्गका रूपमा महत्वपूर्ण भूमिका खेलेको छ ।
डाइभर्सन बगाएपछि यात्रुले करिब १५ मिनेट पैदल यात्रा गर्दै खोला पार गर्नुपरेको छ । खोलाको दुवैतर्फका सवारीसाधनले यात्रुलाई बीचमा झार्ने र अर्को साइडबाट अन्य सवारीले गन्तव्यसम्म पु¥याउने व्यवस्था गरिएको छ ।
गत वर्ष असोज १२ गते आएको बाढीले सो ठाउँको स्थायी पुल बगाएपछि अस्थायी डाइभर्सनबाट आवागमन हुँदै आएको थियो । त्यसपछि गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको भए पनि यस वर्षको असोज १८ को बाढीले फेरि सो संरचना बगाएको हो ।
बेलिब्रिज जडानका लागि प्रक्रिया अघि बढाइए पनि बजेट अभावका कारण काम अगाडि बढ्न सकेको छैन । हाल नेपाली सेनाको फिदिमस्थित वीरदल गणले यात्रुका लागि फड्के निर्माण गरी अस्थायी रूपमा आवतजावत सहज पारेको छ ।
तर स्थानीयका अनुसार उक्त फड्के पैदल यात्रुका लागि मात्र उपयोगी रहेकाले बिरामी, असक्त र सामग्री ढुवानीमा ठूलो समस्या भएको छ । फिदिम–११ का लोकबहादुर बुढाथोकीका अनुसार “जोखिम मोलेर खोलो तर्नुपर्छ, तत्काल स्थायी समाधान आवश्यक छ,” भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो