नवीकरणीय ऊर्जा उत्पादनबारे भारतीय लगानीकर्तासँग छलफल


नेपालगञ्ज: बाँकेको नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ ।
नरैनापुर गााउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित सरोकार भएका निकायसँग छलफल भइरहेको बताए । “नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे लगानीकर्तासँग छलफल भइरहे पनि हालसम्म निष्कर्षमा भने पुगेका छैनौँ”, उनले भने, ।
स्थानीय तहले एकीकृत रूपमा जग्गा उपयोग गरी नयाँ परियोजना कार्यान्वयनमार्फत आम्दानीको स्रोत बढाउने उद्देश्यले भारतीय लगानीकर्तासँग सहकार्य गर्न खोजिएको उनले उल्लेख गरे । नरैनापुर–२ र ४ मा जग्गाको व्यवस्थापन गर्न सकिने जनाउँदै अध्यक्ष शाहले लगानी गरेपछि त्यसको परिणाम आउने गरी काम गरिने जानकारी दिए ।
लुम्बिनी प्रदेशसभाका सांसद कृष्ण केसी, खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली, सौर्य ऊर्जाका विज्ञ भरत विश्वकर्मालगायतको सहभागितामा भारतीय लगानीकर्तासँग नयाँ परियोजना कार्यान्वयनका सम्बन्धमा छलफल गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
नरैनापुरसहित बाँकेलाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य ऊर्जा उत्पादन गर्न करिब रु ७० करोड लगानी लाग्ने भन्दै उक्त लगानी गर्न इच्छुक रहेको भारतीय लगानीकर्ता रोहनराज हेडजेले बताए । सरकारीस्तरबाट सहज रूपमा समन्वय भए निकट भविष्यमा नरैनापुरबाट सौर्य ऊर्जा उत्पादन गरी योगदान दिने उनले उल्लेख गरे । उक्त परियोजनामार्फत सुरुमा १० मेगावाटका दरले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गरी सिधैँ ग्रिडमा जोड्ने योजना रहेको हेडजेले जानकारी दिए ।
नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार व्यावसायिक प्रयोजनमा एक हजार ५०० पिकवाट क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा पाँच सय पिकवाट क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न पाँचवर्षे मासिक किस्तामा बैंक ऋण पाइने सुविधा छ । यसरी ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदानस्वरूप बैंकमार्फत उपलब्ध गराउनुपर्ने प्रावधान छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्
-
बुधबार यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह
-
सिरहामा आधाभन्दा बढी डिप बोरिङ अझै सञ्चालनमा आएनन्
-
देशभर मनसुन कमजोर, तर वर्षाको सम्भावना कायम
-
सेयर बजारमा सबै सूचक हरियाली, कारोबार रकम घट्यो