सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दीर्घायूकुमार श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशक

जलसरोकार
बुधबार, वैशाख ३०, २०८३ | १७:४५:०७ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो ।

श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेका थिए।

काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।

प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कामलाई निरन्तरता दिने अपेक्षासहित श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।

नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराए।

त्यस्तै, प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य पनि नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन्।

नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका-१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै, उपभोक्ताको तर्फबाट नागार्जुन नगरपालिका-५ निवासी कृष्ण बसेल नियुक्त हुनुभएको छ । प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फबाट दलित समुदायको प्रतिनिधित्व सम्भवतः पहिलोपटक भएको छ ।

प्रकाशित मिति : बुधबार, वैशाख ३०, २०८३ | १७:४५:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया