चिलिमे इन्जिनियरिङले कानूनविपरीत वितरण गरेको बोनस फिर्ता गर्न निर्देशन
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको इन्जिनियरिङ निर्देशनालयका कर्मचारीले कानूनविपरीत लिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इपीआर) फिर्ता गरिरहेको अवस्थामा चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज लि. (चेस्को) ले वितरण गरेको बोनसमाथि पनि प्रश्न उठेको छ ।
जलविद्युत् तथा पूर्वाधार परियोजनाको इन्जिनियरिङ र परामर्श सेवा प्रदान गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को पूर्ण स्वामित्वमा २०७३ असोजमा चेस्को स्थापना गरिएको थियो । उक्त कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको नाफाबाट कर्मचारीलाई वितरण गरेको बोनसमाथि हालसालै सार्वजनिक महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले प्रश्न उठाएको हो ।
महालेखापरीक्षकको कार्यालयले कानूनमा भएको व्यवस्थाबाहेक असम्बन्धित कर्मचारीलाई बोनस वितरण गरिएको भन्दै उक्त रकम असुलउपर गर्न निर्देशन दिएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा बोनसबापत २० लाख ९० हजार रुपैयाँ व्यवस्था गरेको थियो । त्यसमध्ये चेस्कोको माउ कम्पनी चिलिमे जलविद्युत्बाट काजमा खटिएका ८ जना कर्मचारीलाई ३ लाख ६६ हजार रुपैयाँ वितरण गरिएको थियो । महालेखाले चिलिमेबाट काजमा खटिएका कर्मचारीलाई वितरण गरिएको बोनस असुल गर्न निर्देशन दिएको हो ।
बोनस ऐन, २०३० अनुसार कर्मचारी भन्नाले प्रतिष्ठानमा सुपरीवेक्षण, प्रशासकीय, प्राविधिक वा अन्य कुनै काम गरेबापत तलब वा ज्याला लिई काम गर्ने व्यक्ति वा कामदारलाई जनाउने व्यवस्था छ । चेस्कोले आर्थिक वर्ष २०८१/८२ मा एक करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले विभिन्न कोषमा रकम स्थानान्तरण गरेपछि हालसम्म सञ्चित नाफा १२ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्