जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

हुँदै नभएको नाफा देखाएर लाभांश वितरण गर्ने निर्णय, विद्युत् नियमन आयोगद्वारा रोक

जलसरोकार
बुधबार, असोज ०९, २०८१ | १७:०४:४९ बजे

 

काठमाडौं : हुँदै नभएको नाफा देखाएर बोनस शेयर वितरण गर्ने र प्रतिशेयर आम्दानी बढेको देखाएर शेयर बजारमा छलाङ मारी आफू उम्कने गरी अपि हाइड्रोपावर कम्पनीको योजना विद्युत् नियमन आयोगले तुहाइदिएको छ ।
आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार कानुन र नियमले रोकेको कुरालाई आयोगले सहमति दिन मिल्दैन । ‘यस्तो स्वीकृतिले भोलि कम्पनीका अन्य शेयरहोल्डर र यो कम्पनीको शेयर खरिद गर्नेहरु मारमा पर्ने देखिन्छ,’ डा. धितालले बुधबार जलसरोकारसित भने, ‘कानुनले दिनु हुँदैन भनेर आयोगले निर्णय गरेर उहाँहरुलाई हामीले पत्राचार पनि गरिसक्यौं ।’
अपि पावर हाइड्रोपावरले इनवा खोला हाइड्रोमा भएको संस्थापक शेयर, जसको लकिङ अवधि नै सकिएको छैन, लाई शेयर बजारको मूल्य वृद्धि भएको भनेर नाफा नोक्सान हिसाबमा देखाएको थियो । यसबाट अपिको प्रतिशेयर आम्दानी बढाएर आम्दानी नै नभएको नाफाबाट लाभांश बाँड्ने निर्णय गरेको थियो ।
नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) अनुसार लकिङ अवधि नखुलेका संस्थापक शेयर लगानीकर्ताहरुलाई नाफा नोक्सान हिसाबमा देखाउन मिल्दैन । बरु ‘फेयर भ्यालु गेन’ (उचित मूल्य लाभ) लाई अन्य आम्दानी भनेर देखाउन भने मिल्छ ।


अधिवक्ता महेश थापाका अनुसार यसरी देखाइएका तर नभएको नाफालाई आम्दानीबाट लाभांश वितरण गर्ने निर्णय हुन थाल्यो भने अरु संस्थापक शेयर बजारमा लगानी नभएका हाइड्रो कम्पनीहरुले यसैगरी लाभांश वितरण गर्ने निर्णय गर्नेछन र यो गैरकानुनी हुन जान्छ । ‘यसबाट लगानीकर्ताको हित विपरीत र कानुनविपरीत हुन्छ’ थापाले जलसरोकारसँग भने, ‘विद्युत् नियमन आयोगले गरेको निर्णय एकदम जायज छ, भोलि शेयरको बजार मूूल्य घट्दा वितरित लाभांश के हुने ?’
अपि हाइड्रोपावरले गत भदौ ७ गते सञ्चालक समिति बैठक राखी ७ गते सञ्चालक समिति बैठक राखी ७ गते सञ्चालक समिति बैठक राखी ‘आव २०८०÷८१ को खुद मुनाफाबाट हाल कायम रहेको कम्पनीको चुक्ता पुँजी रु. ५७८.६५ करोड रुपैयाँको शेयर शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने’ निर्णय गरेको थियो । 
सोही बैठकले उक्त लाभांश वितरणका लागि विद्युत् नियन आयोगको स्वीकृति तथा आगामी बस्ने कम्पनीको आव २०८०÷८१ को २१ औं वार्षिक साधारण सभाबाट अनुमोदन भई निर्णय भएपश्चात् मात्र वितरण गरिने’ निर्णय गरेको थियो ।


उक्त निर्णयअनुसार कम्पनीले लाभांश शेयर वितरणका लागि आयोग समक्ष निवेदन दिएको थियो । निवेदनका साथ संलग्न लेखापरीक्षकको प्रतिवेदनमा लेखा परीक्षकले बुँदा नं. १७ र ३७ प्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै असहमति जनाएको छ ।
लेखापरीक्षकले अपि हाइड्रोपावरले सहायक कम्पनी, एसोसिएट्स र अन्य कम्पनीको शेयरमा भएको लगानीको उचित मूल्यांकनबाट प्राप्त अवास्तविक नाफा नाफा–नोक्सान विवरण विवरणमार्फत आम्दानीमा स्थानान्तरण भएको र त्यस्ता अवास्तविक नाफाबाट लाभांश वितरण गर्न कम्पनीको व्यवस्थापनले प्रस्ताव गरेको उल्लेख गरेको छ ।


कम्पनी ऐन २०६३ को दफा १८२(५) मा ‘लाभांश वितरण गर्नको लागि छुट्याइएको मुनाफाको रकमबाट बाहेक अन्य कुनै किसिमबाट कम्पनीले लाभांशको भुक्तानी वा वितरण गर्न सक्ने छैन’ उल्लेख छ ।
 

प्रकाशित मिति : बुधबार, असोज ०९, २०८१ | १७:०४:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया