इप्पानमा ‘लोकतान्त्रिक नेतृत्व’ बहस
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) भित्र नेतृत्व चयन प्रक्रिया, विधान संशोधन र संस्थागत पुनर्संरचनाबारे बहस चर्किएको छ।
ऊर्जा उद्यमीहरूले संस्थालाई थप लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउन विधान संशोधनमार्फत नेतृत्व चयन प्रक्रिया खुला गर्नुपर्नेमा जोड दिएका छन्।
इप्पानको २४ औँ वार्षिक साधारणसभाअघि आयोजित छलफल कार्यक्रममा बोल्दै संस्थाका उपमहासचिव प्रकाश दुलालले २१ औँ साधारणसभाबाट गठन भएको विधान संशोधन तथा पुनर्लेखन समितिले २३ औँ साधारणसभामा पेश गरी पारित गरेको दाबी गर्दै संशोधन प्रस्ताव कार्यान्वयन गर्नुपर्ने बताए।
उनले अध्यक्ष स्वतः चयन हुने व्यवस्था हटाएर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने, कम्तीमा एक कार्यकाल इप्पानमा काम गरेको व्यक्ति अध्यक्ष बन्न पाउनुपर्ने तथा पदाधिकारी चयनलाई सीमित घेराबाट बाहिर ल्याएर खुला बनाउनुपर्ने आवश्यकता औँल्याए।
“अबको इप्पान समयसापेक्ष, परिवर्तनशील, एकताबद्ध, प्रभावकारी र पारदर्शी हुनुपर्छ,” दुलालले भने, “निर्णय कार्यान्वयन गर्ने जिम्मेवार संस्था बन्नु अहिलेको आवश्यकता हो।”
कार्यक्रममा इप्पानका संस्थापक एवं पूर्वअध्यक्ष सन्दीप साहले ०५७ सालमा चार कम्पनीबाट सुरु भएको इप्पान अहिले ७०० कम्पनीको साझा संस्था बनेको भन्दै संस्थागत एकता जोगाउन लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने बताए।
उनले ऊर्जा विकासका रणनीतिक एजेन्डामा सरकारलाई दबाब दिन सक्ने बलियो संस्थाका रूपमा इप्पानलाई अघि बढाउन विधानभित्र रहेका विवाद समाधान गर्न आवश्यक रहेको धारणा राखे।
वरिष्ठ ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानले विधान पारित गरेर आवश्यक परे केही समय निर्वाचन सार्न सकिने भए पनि संस्थाभित्र विभाजन आउन नदिनुपर्ने बताए।
“इप्पानमा काम गर्नेभन्दा गफ गर्ने धेरै भए,” उनले भने, “अब काम गर्ने मानिस नेतृत्वमा आउने वातावरण बनाउनुपर्छ।”
ऊर्जा उद्यमी विनोद देवकोटाले अघिल्लो निर्वाचनमा विधानकै कारण आफ्नो उम्मेदवारी खारेज भएको स्मरण गर्दै २३ औँ साधारणसभाबाट पारित विधान कार्यान्वयन गरेर संस्थालाई एकताबद्ध बनाउन नेतृत्वसमक्ष आग्रह गरे।
नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तथा ऊर्जा उद्यमी सुवास बरालले इप्पानका एजेन्डा अब जलविद्युत् लगानीकर्ताको मात्रै नभई राष्ट्रिय आर्थिक एजेन्डा बनेको बताए।
“बदलिँदो परिस्थितिअनुसार सबैलाई स्वीकार्य हुने गरी विधान संशोधन गरेर निर्वाचन गर्नुपर्छ,” उनले भने।
वरिष्ठ उपाध्यक्षका दाबेदार उत्तर भ्लोनले संस्थाभित्र फुटभन्दा एकतालाई प्राथमिकता दिनुपर्ने बताए। “यदि संस्थाको बृहत्तर हितका लागि सहमति बन्छ भने म आफ्नो दाबी छोड्न तयार छु,” उनले भने।
इप्पानका सल्लाहकार लालकृष्ण केसीले संस्थाको अन्तर्राष्ट्रिय साख जोगाउन सबैलाई समेट्ने नेतृत्व आवश्यक रहेको बताए भने वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बदलिँदो आवश्यकताअनुसार विधानलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने बताए।
कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले सरकारको १०० बुँदे कार्यक्रममा ३० हजार मेगावाट विद्युत् उत्पादन, पीपीए खुला गर्ने तथा ‘वन डोर’ प्रणालीजस्ता विषय समावेश हुनु इप्पानको सफलता भएको दाबी गरे।
कार्यक्रमको अध्यक्षता गरेका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विधान संशोधनलाई “जालझेल र चिटिङमुक्त साझा दस्ताबेज” बनाउनुपर्नेमा जोड दिए।
महासचिव बलराम खतिवडाले नेतृत्वमा नैतिकता र नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बताउँदै आफू नेतृत्वमा आए दुई वर्षभन्दा बढी पदमा नबस्ने घोषणा गरे।
कार्यक्रममा सहभागी ऊर्जा उद्यमीहरूले सरकार परिवर्तनसँगै ऊर्जा क्षेत्रमा नीतिगत अस्थिरता बढ्ने गरेको भन्दै बलियो संगठनबिना लगानीकर्ताका मुद्दा स्थापित गर्न कठिन हुने चेतावनी दिएका थिए।
उनीहरूले निर्वाचनभन्दा सर्वसम्मत नेतृत्व चयनले संस्थालाई बलियो बनाउने धारणा राख्दै आवश्यक परे निर्वाचन केही समय पर सारेर भए पनि एकता जोगाउनुपर्ने सुझाव दिएका थिए।
इप्पानको २४ औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा करिब ३५० ऊर्जा व्यवसायी तथा लगानीकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तीन दिन ‘आगोको लहर’मा तराई, ४० डिग्री नाघ्ने चेतावनी
-
अब मेगावाट गन्ने होइन, बिजुली बेच्ने रणनीति चाहिन्छ : सांसद न्यौपाने
-
अब मेगावाट गन्ने होइन, बिजुली बेच्ने रणनीति चाहिन्छ : सांसद न्यौपाने
-
खिम्ती जलविद्युत्काे शेयर हस्तान्तरणबारे वार्ता समिति पुनर्गठन
-
नेप्से १३.४६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
इप्पानमा ‘लोकतान्त्रिक नेतृत्व’ बहस