दमौली–लेखनाथ प्रसारण लाइन : जग्गा अधिग्रहणमा असन्तुष्टि, उचित क्षतिपूर्तिको माग
जलसरोकार
तनहुँ : दमौली–लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका–५ क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया अघि बढेपछि स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। समयमै जानकारी नपाएको र जग्गा रोक्का गरिएको विषय पछि मात्रै थाहा पाएको भन्दै प्रभावितहरूले उचित क्षतिपूर्तिको माग गरेका हुन्।
स्थानीय ध्रुवनाथ पण्डित, श्रीभद्र आचार्य र विजय वाग्लेलगायतले आफ्नो मुख्य सम्पत्ति उक्त जग्गा नै रहेको उल्लेख गर्दै पारदर्शी मूल्याङ्कन र न्यायोचित मुआब्जा दिनुपर्ने माग गरेका छन् । प्रसारण लाइनका तार घरमाथिबाट लैजाँदा जोखिम बढ्ने भएकाले टावरको स्थान अन्यत्र सार्नुपर्ने उनीहरूको आग्रह छ ।
स्थानीयवासीले पर्याप्त समन्वय र सूचना अभावमा प्रक्रिया अघि बढाइएको गुनासो गरेका छन् । उनीहरूले प्रभावित क्षेत्रका बासिन्दासँग प्रत्यक्ष संवाद नगरी काम अगाडि बढाउँदा अन्योल सिर्जना भएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले मुआब्जा निर्धारण प्रक्रिया अझै बाँकी रहेको जनाउँदै प्रभावित जग्गाको विवरणका आधारमा उचित मूल्याङ्कन गरी वितरण गरिने बताए ।
आयोजना प्रमुख जगदीश पौडेल ले निर्माणमा ढिलाइ हुँदा ठेकेदार पक्षबाट समेत क्षतिपूर्ति माग हुन थालेको भन्दै समयमै काम सम्पन्न गर्न स्थानीयको सहयोग आवश्यक रहेको बताए ।
व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले स्थानीयबाट गुनासोसहित निवेदन प्राप्त भएको जानकारी दिँदै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी का अनुसार प्रभावित क्षेत्रबाट गुनासो आएपछि विवरण सङ्कलन कार्य सुरु गरिएको छ । “मुआब्जा सम्बन्धमा उचित मूल्याङ्कन गरी जानकारी दिनेछौँ,” उनले भने, ।
जर्मनी सरकारको केएफडब्लु विकास बैंकको सहवित्तपोषणमा निर्माण हुन लागेको करिब ४५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन तथा लेखनाथ र दमौलीमा ग्यास इन्सुलेटेड सबस्टेसन स्थापना गर्ने योजना रहेको छ ।
करिब एक हजार मेगावाट क्षमता रहेको यस परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाल सुदृढ बनाउने र जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रभावकारी रूपमा प्रसारण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम: सम्भावनाले धनी, पूर्वाधारले गरिब
-
युनियन हाइड्रोपावरको ऐतिहासिक निर्णय : १०० प्रतिशत हकप्रद, होल्डिङ कम्पनीमा रूपान्तरण
-
दमौली–लेखनाथ प्रसारण लाइन : जग्गा अधिग्रहणमा असन्तुष्टि, उचित क्षतिपूर्तिको माग
-
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम
-
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सहज रूपमा विद्युत् महसुल सङ्कलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण