जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता

जलसरोकार
बुधबार, फागुन २८, २०८१ | १७:५२:४६ बजे

काठमाडौं: निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत भिमाद नगरपालिका–५स्थित वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।

भिमाद–ऋषिङ सडकअन्तर्गत आयोजनाको जलाशयका कारण डुवानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण व्यवसायीसँग बुधबार ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण गर्ने (डिजाइन एण्ड बिल्ड) गरी सपना निर्माण सेवा (प्रा)लि.सँग २३ करोड ७ लाख रुपैयाँ (मूल्य अभिबृद्धि करसहित)मा ठेक्का सम्झौता भएको हो ।

आयोजनाको प्रवर्धक तनहुँ हाइड्रोपावर लि.कातर्फबाट प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र सपना निर्माण सेवाकातर्फबाट प्रबन्ध–सञ्चालक हरी प्रसाद ढकालले ठेक्का सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । ३० महिनाभित्र  पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो ।

आयोजनाको विकास साझेदार एसियाली विकास बैंकको खरिद निर्देशिका बमोजिम पुल निर्माणका लागि निर्माण व्यवसायी छनोट गर्न १४ असार २०८१मा टेण्डर आह्वान गरिएको थियो । पाँचवटा निर्माण व्यवसायीहरुबाट प्रस्ताव पेश भएको थियो । प्राविधिक बोलपत्रहरुको मूल्याङ्कनमा ५ वटै कम्पनी सारभूत रुपमा प्रभावग्राही  भएका थिए । त्यसपछि आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरुको मूल्याङ्कन पश्चात न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही सपना निर्माण सेवाको बोलपत्र स्वीकृत गरी ठेक्का सम्झौता गरिएको हो ।

वानटाङ सेती नदीको सहायक खोला हो । आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१को सीमानामा निर्माण गर्ने १४० मिटर अग्लो बाँधका कारण बन्ने जलाशयका कारण माथिल्लो तटीय क्षेत्रमा पर्ने वानटाङ खोला पनि डुवानमा पर्नेछ । अधिकतम तह समुद्र सतहबाट ४१५ मिटरसम्म बन्ने जलाशयका कारण त्यस भेगका बासिन्दाको आवतजावतमा अवरोध हुनेभएपछि आवागमनलाई सहज बनाउन पक्की पुल निर्माण गर्न लागिएको कम्पनीका प्रबन्ध–सञ्चालक श्रेष्ठले बताए । 
भिमाद बजारबाट ऋषिङपाटनसम्मको सडक कालोपत्रे भइसकेको छ । बीचमा पुल नहुँदा मुख्य रुपमा वर्षायाममा त्यस भेगको आवागमन प्रभावित हुँदै आएको छ । आयोजनाले हाल वर्षायाममा वानटाङ खोला हुँदै गरिने आवतजावतलाई सहज बनाउन अस्थायी कल्भर्ट निर्माण गरिदिएको छ । यसबाट त्यस भेगका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरुमा ६८ योजनाहरु सम्पन्न भएका छन् । ६ वटा योजनाहरुसञ्चालित छन् ।

जीविकोपार्जन पुनस्र्थापना योजनाअन्तर्गत आयोजना प्रभावितहरुको आयआर्जन बृद्धिका मौरीपालन, बाख्रापालन, वित्तीय साक्षरता, व्यवसायिक तरकारी खेती, इलेक्ट्रिसियनलगायतका विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ ।  
 

प्रकाशित मिति : बुधबार, फागुन २८, २०८१ | १७:५२:४६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया