सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक विराजभक्त श्रेष्ठ नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

'सुशासन' लाई निरन्तरता दिंदै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पनि लगे प्राधिकरणको गाडी

दीपक खड्काले लगेको गाडी जलेपछि लगत कट्टा

जलसरोकार
सोमबार, चैत २३, २०८२ | १७:०७:०० बजे

काठमाडौं : सुशासनको नारा लगाउँदै सत्तामा आएको रास्वपाका ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा बहाल भएलगत्तै नेपाल विद्युत् प्राधिकरणको एउटा गाडी लगेका छन् ।
ऊर्जा मन्त्रालयमा आउने हरेक नयाँ मन्त्रीले आउनेबित्तिकै प्राधिकरणबाट गाडी लैजाने परम्परालाई मन्त्री श्रेष्ठले पनि निरन्तरता दिएका हुन् । यसअघिका ऊर्जा मन्त्री दीपक खड्काले तनहुँ हाइड्रोबाट झिकाइएको नयाँ गाडी (चार करोड रुपैयाँ पर्ने) घरमा राख्दा गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा जलेको थियो ।
प्राधिकरणले तत्कालीन मन्त्री खड्काको घर परिसरमा जलेको उक्त जापानीज गाडीको लगत कट्टा गर्ने प्रक्रिया थालिसकेको छ ।
यता प्राधिकरणको जलेको गाडीको लगत कट्टा नहुँदै र मन्त्री पदमा बहाल हुने बित्तिकै मन्त्री श्रेष्ठले पनि प्राधिकरणलाई दुईवटा गाडी उपलब्ध गराउन फरमान जारी गरेका हुन् । मन्त्रीको फरमानरुपी पत्र प्राधिकरणमा आएपछि उसले तत्कालै आयोजना विकास विभागको वीवाइडी गाडी मन्त्रीले उपलब्ध गराएको हो । प्राधिकरणले पञ्चायतकालदेखि नै मन्त्री र पावरफुल व्यक्तिहरुलाई यसैगरी गाडी वितरण गर्दै आएको छ।
प्राधिकरण स्रोतका अनुसार मन्त्री श्रेष्ठको सचिवालयबाट माग भई आएबमोजिम प्राधिकरणले बीए सी २८३२ नम्बरको गाडी मन्त्री श्रेष्ठको सचिवालयमा पुर्‍याएको हो । मन्त्री श्रेष्ठले माग गरेअनुसार अर्काे कुन गाडी पनि बुझाउने तयारी गरिरहेको छ ।
सञ्चालक समितिका सदस्यहरुले भने अवैध रुपमा प्राधिकरणको गाडी दुरुपयोग गर्दै आएका छन् । सञ्चालक समितिका सदस्यहरुलाई पदमा रहुञ्जेल गाडी सुविधा दिने गरी सञ्चालक समितिमा कार्यकारी निर्देशक शाक्यले लगेको प्रस्ताव उक्त सञ्चालक समितिले पारित गरेन । पारित नगरेकै कारण सञ्चालकले चढेको गाडी अनधिकृत चढाइ हुन पुगेको हो । 

प्राधिकरणको नियमानुसार सञ्चालक समितिको बैठक बसेका बेला सञ्चालकहरलाई घरबाट ल्याउने र पुर्‍याउने मात्र सुविधा छ । तर सञ्चालकहरुले आफ्नो निजी काममा समेत प्राधिकरणका गाडी दुरुपयोग गर्दै आएका छन् । 
अघिल्ला ऊर्जा मन्त्री खड्का र तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गराएका सञ्चालकहरु बलबहादुर पराजुली, श्यामकिशोर यादव, रतनबहादुर ऐर र रोहित पौडेलले अहिले पनि कांग्रेस र एमालेको सरकार रहेकै रवाफ र ढाँटमा प्राधिकरणको गाडीमा मोज गर्दै आएका छन् ।
निजी क्षेत्रको बिजुली खरिद गर्नै हुन्न भनी प्रतिवेदन लेख्ने बलबहादुर पराजुलीले प्राधिकरणको बी एबी ३७४१, श्यामकुमार यादवले ३६९०, रतनबहादर ऐरले बी एसी २८२५ को गाडी चढ्दै आएका छन् ।  
यता प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको सचिवालयका दुई कर्मचारीलाई पनि अनधिकृत तवरले गाडी सुविधा दिइएको पाइएको छ । प्राधिकरणको नियमानुसार महाशाखा प्रमुख वा दस तह वा सो सरहको पदका हाकिमले मात्र गाडी सुविधा पाउने बन्दोबस्ती छ ।
प्राधिकरणले यिनीहरुका लागि मासिक १२० लिटर तेल (मन्त्रीले लगेको गाडीको हकमा आवश्यक परेजति), भनेजति मर्मत रकम, काज सुविधा, उपत्यका बाहिर जाादा लाग्ने सम्पूर्ण इन्धन उपलब्ध गराउँदै आएको छ ।

 

प्रकाशित मिति : सोमबार, चैत २३, २०८२ | १७:०७:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया