मुस्ताङको चैले र चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु
जलसरोकार
मुस्ताङ : वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले÷चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा सवस्टेसन निर्माण अघि बढाएको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभी प्रसारण लाइन र सवस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । अध्यक्ष विष्टसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार चैले र चराङ पुगेर सवस्टेसन निर्माणस्थलको स्थलगत अवलोकन तथा सर्वेक्षण गरेका छन् ।
आयोजना प्रमुख विमलराज राउतका अनुसार भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा बनेको देवयान्स÷भिसान जेभीले रु ३८ करोड लागतमा ठेक्का सम्झौता गरेको छ । मुस्ताङ जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको उनले जानकारी दिए ।
सवस्टेसन निर्माण प्रक्रिया एक वर्षअघि सुरु भए पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय लागेको आयोजनाले जनाएको छ । सम्झौताअनुसार चैले र चराङमा १५ महिनाभित्र दुई वटा ‘३ एमभिए’ क्षमताका ३३ केभी सवस्टेसन निर्माण गरिनेछ ।
प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सवस्टेसन रहेको थासाङ गाउँपालिका–२ कोवाङ सवस्टेसनबाट करिब १०३ किलोमिटर दूरीमा पर्ने चैले र चराङमा सवस्टेसन निर्माण गर्न लागिएको हो । तीन हजार ८०० मिटरभन्दा बढी उचाइमा पर्ने भएकाले उच्च हिमाली क्षेत्रको वातावरण सहनसक्ने गरी सवस्टेसन निर्माण गर्नुपर्ने हुँदा लागत सामान्यभन्दा बढी भएको आयोजना प्रमुख राउतले बताए ।
उनका अनुसार हिउँदमा पनि समस्या नआउने र उच्च उचाइमा सहज रूपमा सञ्चालन हुनसक्ने गरी सवस्टेसनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । सवस्टेसन सम्पन्न भएपछि विद्युत् आपूर्ति सहज हुनुका साथै भोल्टेज समस्यामा पनि सुधार आउने विश्वास उनले व्यक्त गरे ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले हाल थासाङमा रहेको एउटा मात्र ३३ केभी सवस्टेसनका कारण जिल्लामा विद्युत् आपूर्तिमा समस्या हुँदै आएको बताए । दीर्घकालीन समाधानका लागि पालिका र सरोकारवाला निकायको पहलमा नयाँ सवस्टेसन निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
सवस्टेसन निर्माण सम्पन्न भएमा विद्युत् आपूर्ति सहज हुनुका साथै पर्यटन, कृषि र औद्योगिक विकासमा टेवा पुग्ने अध्यक्ष विष्टले विश्वास व्यक्त गरे ।
यसअघि आयोजनाअन्तर्गत कोवाङदेखि लोघेकर दामोदरकुण्ड–१ चराङसम्म प्रसारण लाइन विस्तार सुरु गरिएको थियो । दुई वर्षे सम्झौता अवधि रहेको उक्त प्रसारण लाइनको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको निर्माण कम्पनीका प्रतिनिधि नवराज कडरियाले जानकारी दिनुभयो । केही स्थानमा स्थानीय समस्या देखिँदा काममा ढिलाइ भएको उनले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला