बझाङ–बनलेक ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो
जलसरोकार
काठमाडौं : पश्चिम नेपालमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न २ हजार ५०० मेगावाट क्षमताको विद्युत् प्रवाह गर्न सक्ने बझाङ–बनलेक (पश्चिम सेती) ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेकाे छ ।
कुल ६० किलोमिटर लामो यस प्रसारण लाइनले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१ मा प्रस्तावित चैनपुर सबस्टेसनलाई डोटी जिल्लाको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) सबस्टेसनसँग जोड्नेछ।
आयोजना निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत् विकास विभागमा अनुमति माग्दै आवेदन दिएको छ। विद्युत् ऐन, २०४९ को दफा ४ अनुसार प्रसारण लाइन निर्माणका लागि विभागबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ।
आयोजनाअन्तर्गत चैनपुरमा ४००/१३२ केभी क्षमताको १६० एमभिए सबस्टेसन तथा बनलेक (पश्चिम सेती) मा ४००/१३२ केभी क्षमताको ३१५ एमभिए सबस्टेसन निर्माण गरिनेछ। यी संरचनाले पश्चिम क्षेत्रमा उत्पादन हुने ठूलो परिमाणको विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रस्तावित ६० किलोमिटर लामो प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर निर्माण हुनेछन्। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ भने दुई टावरबीचको औसत दूरी ४०८.९९ मिटर र न्यूनतम दूरी १२७.७९ मिटर रहने योजना छ।
आयोजना कार्यान्वयनका लागि कुल २९५.४२ हेक्टर जग्गा आवश्यक पर्नेछ। यसमध्ये ३०.४१ हेक्टर जग्गा टावर निर्माणका लागि तथा २६५ हेक्टर जग्गा प्रसारण लाइनको विद्युत् मार्ग (राइट अफ वे) अन्तर्गत पर्नेछ। यस्तै, सबस्टेसन निर्माणका लागि २१.४१ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा बनलेक सबस्टेसनका लागि ७ हेक्टर र चैनपुर सबस्टेसनका लागि १४.३७ हेक्टर जग्गा उपयोग गरिनेछ। प्रसारण लाइनको क्षेत्राधिकार (राइट अफ वे) ४६ मिटर रहनेछ।
प्रसारण लाइन निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायत वातावरणीय प्रभावलाई न्यूनतम बनाउने गरी काम गरिने जनाइएको छ।
यसैबीच, विद्युत् विकास विभागले प्रस्तावित आयोजनाबारे सम्बन्धित सरोकारवाला तथा स्थानीयवासीबाट सुझाव, राय र सल्लाह प्राप्त गर्न सार्वजनिक सूचना जारी गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढेर ४ अर्ब ६२ करोड रुपैयाँ पुग्यो
-
ऊर्जा निर्यातको चर्चा, तर मधेशमा अझै गुणस्तरीय विद्युत् र सिँचाइको प्रतीक्षा
-
हकप्रदअघि कुन जलविद्युत् कम्पनी कति बलियो? ३२ कम्पनीको तुलनात्मक विश्लेषण
-
एकैदिन सुनमा ८ हजार र चाँदीमा ९५ रुपैयाँले बढ्याे
-
बुद्धभूमि नेपाल हाइड्रोपावर घाटाबाट नाफामा, विद्युत् बिक्री बढ्दा वित्तीय अवस्था सुधार
-
अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, बिपी राजमार्गमा राति सवारी सञ्चालन बन्द