रोकिएको तनहुँ जलविद्युत् प्रसारण लाइन निर्माण पुनः सुरु
जलसरोकार
तनहुँ,: पटक–पटक रोकिँदै आएको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को निर्माण कार्य पुनः गतिशील बनेको छ । आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन निर्माण अवरुद्ध हुने मुख्य कारण वन क्षेत्र प्रयोग र रुख कटान स्वीकृति रहेकाले यसलाई समाधान गर्न आयोजनाले सम्बन्धित निकायसँग सक्रिय पहल थालेको हो ।
चितवनमा दमौली–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा पर्ने वन क्षेत्रको जग्गा सट्टाभर्ना उपलब्ध गराउने विषयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बैठक बसेको छ । बैठकले राष्ट्रिय वनसँग जोडिएको र समान पारिस्थितिकीय क्षेत्र भएको निजी जग्गा खरिद गरी सरकारको नाममा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसका लागि इच्छुक जग्गाधनीलाई सार्वजनिक सूचना जारी गर्ने तयारी भएको छ ।
यद्यपि, आवश्यक मात्रामा जग्गा उपलब्ध नहुँदा समितिले वन तथा भूसंरक्षण विभागमार्फत वन नियमावलीअनुसार रकम बुझाएर जग्गा प्रयोग गर्ने वैकल्पिक व्यवस्था मिलाउने सिफारिससमेत गरेको छ ।
आयोजनाअन्तर्गतको प्रसारण लाइन निर्माणमा हालसम्म ७४ प्रतिशत प्रगति भएको छ । ९४ मध्ये ७८ टावरको जग हालिसकिएको छ भने ६९ टावर जडान पूरा भइसकेका छन् । बाँकी २२ टावरमध्ये अधिकांशको जग संरक्षण सम्पन्न भइसकेको र केही स्थानमा काम जारी रहेको छ ।
यस प्रसारण लाइन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी केइसी इन्टरनेसनलले सुरुवाती योजना अनुसार सन् २०२२ मेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखे पनि कोभिड–१९ महामारी र वन मन्त्रालयबाट अनुमति ढिलाइका कारण परियोजना समयमै सकिन सकेको थिएन । सम्झौतामा म्याद थपिएसँगै हाल काम पुनः तीव्र गतिमा अघि बढाइएको छ ।
यसअन्तर्गत तनहुँको व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, तथा देवघाट गाउँपालिका–४ र ५ मा पर्ने ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्