सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न

जलसरोकार
सोमबार, भदौ ०८, २०८३ | ०९:२८:१४ बजे

 

म्याग्दी : म्याग्दीको बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएसँगै विद्युत् उत्पादनको तयारी अघि बढाइएको हो।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाको बाँध, डिसेन्डर, मुख्य सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षणसमेत पूरा भएको छ भने अर्को २० मेगावाटको युनिटको परीक्षण आइतबारदेखि सुरु गरिएको छ।

“बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को २० मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ,” प्रबन्ध सञ्चालक केसीले भने । 

उनका अनुसार दुवै युनिटको परीक्षणका लागि एक सातादेखि १० दिनसम्म लाग्ने अनुमान गरिएको छ। परीक्षण पूरा भएपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम तीव्र पारिएको छ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा बाँध निर्माण गरिएको छ। आयोजनाको ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरीको परीक्षणसमेत सम्पन्न भइसकेको छ। तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्‌गृहमा उपकरण जडान पूरा गरी परीक्षण सुरु गरिएको हो।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्‌गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ। राहुघाटको विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी डबल सर्किट क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा ‘लिलो’ माध्यमबाट जोडिनेछ। त्यसका लागि आवश्यक चारवटा टावर र प्रसारण लाइनसमेत निर्माण भइसकेका छन्।

पटक–पटक म्याद थपिएपछि बल्ल सम्पन्न

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते रु. ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो। तर कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण आयोजनाको निर्माण प्रभावित भयो।

ठेकेदार कम्पनीले निर्धारित समयमा काम पूरा गर्न नसकेपछि पटक–पटक म्याद थप गरिएको थियो। सन् २०२२ फेब्रुअरीमा पहिलो र दोस्रोपटक तथा त्यसपछि सन् २०२५ नोभेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो। चौथोपटक थपिएको समयभित्र आयोजना निर्माण सम्पन्न भएको हो।

जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले प्राकृतिक विपद्, कोरोना महामारी तथा निर्माण सामग्रीको अभावका कारण आयोजनाको निर्माणमा ढिलाइ भएको बताए । 

पछिल्लो पटक छनोट भएको जेपीले २०७५ असारमा पहुँचमार्ग निर्माण र २०७६ असारमा मुख्य सुरुङ खन्ने काम सुरु गरेको थियो।

पुरानो ठेकेदारसँग ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण

राहुघाट आयोजना निर्माणका लागि यसअघि आइभिआरसिएलसँग २०६६ मा ठेक्का सम्झौता गरिएको थियो। तर कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा उक्त ठेक्का तोडिएको थियो। त्यसपछि नयाँ प्रक्रियाबाट ठेकेदार छनोट गरी आयोजना निर्माण अघि बढाइएको हो।

आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनी अवधारणाअनुसार इन्जिनियरिङ, प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (इपिसी) प्रारुपमा आयोजना निर्माण गरिएको हो।

म्याग्दीको जलविद्युत् विकासको प्रवेशविन्दु

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लामा सरकारी लगानीमा सञ्चालन भएको पहिलो जलविद्युत् आयोजनाका रूपमा म्याग्दीको जलविद्युत् विकासको ‘गेटवे’ अर्थात् प्रवेशविन्दुका रूपमा लिइएको बताए । 

“राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेका छन्,” उहाँले भन्नुभयो, “ढिलै भए पनि दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको खबरले हामीलाई उत्साहित बनाएको छ।”

आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो। अब परीक्षण पूरा भएपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : सोमबार, भदौ ०८, २०८३ | ०९:२८:१४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया