नुप्चे-लिखु (५७.५ मेगावाट) को निर्माण ८७ प्रतिशत पूरा, साउनमा बत्ती बल्ने

जलसरोकार
बिहीबार, वैशाख १८, २०८२ | १३:५६:१७ बजे

काठमाडौं : निजी क्षेत्रद्वारा प्रवद्र्धित नुप्चे लिखु (५७.५ मेगावाट) मुख्य सुरुङ निर्माण कार्य चैत मसान्तसम्म ९५ प्रतिशत पूरा भएको छ । कुल ७ हजार ६ सय ५ मिटर हेडरेस टनेल (सुरुङ) मध्ये ७ हजार २ सय ३३ मिटर सम्पन्न भएको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी भिजन इनर्जी एण्ड पावर लिमिटेडले जनाएको छ ।
कम्पनीले गत माघदेखि चैत मसान्तसम्म तयार पारेको ‘आयोजना प्रगति विवरण’ अनुसार अब सुरुङका विभिन्न अवयवमध्ये शत प्रतिशत पूरा हुन बाँकी रहेका संरचनाहरुमा ‘आउटलेट पोर्टल अडिट जङ्क्सन’ (११९.८५ मिटर), ‘अडिट जङ्क्सन आउटलेट पोर्टल’ (१४९.०५ मिटर), ‘अडिट २’ अर्थात् अतिरिक्त बाइपास सुरुङ (५२.५ मिटर) छन् । कुल ३७२.३ मिटर संरचना निर्माण मात्र बाँकी रहेको कम्पनीले जनाएको छ । 
त्यसैगरी कुल निर्मित २४८० मिटर सुरुङमध्ये ४१.४७ प्रतिशत खण्डको फिनिसिङ कार्य पूरा भएको छ । यस्तै लिखु मुहानमा गेट फ्रेमको दोस्रो चरणको कंक्रिटिङको काम पनि सम्पन्न भएको छ । 


सुरुङमा प्रयोग हुने एंकर ब्लक (हेडरेस पाइपलाई अठ्याउने संरचना), कुल संख्या २७, मध्ये २३ वटा सम्पन्न भइसकेको छ । यो भनेको कुल एंकर ब्लकको ८५.१९ प्रतिशत हो । त्यसैगरी कुल २० वटा हेडरेस पाइप (मुहानबाट विद्युत् गृहमा पानी लैजाने पाइप) मध्ये १९ वटा (एंकर ब्लकसमेत) पूरा भएको कम्पनीले जनाएको छ । 
आयोजनाको इलेक्ट्रो मेकानिकलतर्फ ८०.३ प्रतिशत काम पूरा भएको छ । स्विचयार्ड टावर र उपकरण संरचना फास्टनरहरू कडा पार्ने र पंक्तिबद्ध गर्ने र बसबार गठन पूरा भएको छ । हाइड्रो मेकानिकलतर्फ भने ८७.२० प्रतिशत कार्य पूरा भएको छ । पाइप ठाडो पार्ने काम ७३.८२ प्रतिशत सम्पन्न भएको छ । 


हाइड्रो मेकानिकलतर्फ पेनस्टक ६९.३५ प्रतिशत, भर्टिकल साफ्ट ४२.१७ प्रतिशत, होरिजेन्टल साफ्ट ४९.५६, बाइफरकेसन तथा मेनिफोल्ड्स (शाखा पाइप) ६९.२३, लिखु हेडरेस पाइप ९९.६२ र नुप्चे हेडरेस पाइप ८२.७ प्रतिशत पूरा भएको छ । यो लटतर्फ अब एक हजार ६० मिटरको मात्र काम बाँकी रहेको प्रगति विवरणमा उल्लेख छ ।
आयोजनाको अर्काे महत्वपूर्ण संरचना प्रसारण लाइनतर्फ ७३.२५ प्रतिशत कार्य पूरा भएको छ । करिब ९८ प्रतिशत टावरका पार्टपूर्जा साइटमा पु¥याइसकिएको छ । ८१.७३ प्रतिशत टावरको जग खन्ने काम पनि सकिएको र ८३ प्रतिशत टावरको जगमा ढलान भइसकेको छ । २१ प्रतिशत टावर ठड्याउने काम सकिएको कम्पनीले जनाएको छ । 
समग्रमा कुल भौतिक कार्यतर्फ ८७ प्रतिशत पूरा भएको छ भने आयोजनाको कुल अनुमानित लागतमा ८२.२६ प्रतिशत बजेट खर्च भएको छ ।

 

कम्पनीका अनुसार आयोजनाको व्यावसायिक उत्पादन मिति आगामी साउन १३ गते छ । यो आयोजनाको सर्भे लाइसेन्स सन् २०१७ मे २८ मा प्राप्त भएको थियो भने यसको पीपीए २०१८ मार्च १२ मा भएको हो । 
रामेछापको उमाकुण्ड गाउँपालिकास्थित नुप्चे र लिखु खोलामा यो आयोजना निर्माण भइरहेको छ । आयोजनाको कुल लागत १० अर्ब ९८ करोड रुपैयाँ छ । 
 

प्रकाशित मिति : बिहीबार, वैशाख १८, २०८२ | १३:५६:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई jalsarokarofficial@gmail.com मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया