तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण ६२ प्रतिशत पूरा
जलसरोकार
दमौली : तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणको कामले गति लिएको छ। आयोजना अन्तर्गत प्याकेज–१ मा निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधमा हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको छ।
मुख्य बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिसकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
उनका अनुसार मुख्य बाँध आयोजनाको प्रमुख संरचनामध्ये एक हो। बाँधमा कङ्क्रिट राख्ने काम निरन्तर भइरहेकाले आगामी दिनमा निर्माण प्रगतिले थप गति लिनेछ।
प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले पाएको छ। उक्त प्याकेजको समग्र भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजना प्रमुख भण्डारीले बताए ।
प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि आवश्यक डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन बनाइएको अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ। मुख्य बाँध निर्माणका लागि सेती नदीको धारसमेत पथान्तरण गरिएको छ।
मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको छ। त्यस्तै, बाँधको दुवै किनारमा रहेका आठवटा ग्राउटिङ टनेल पनि निर्माण भइसकेका छन्। मुख्य बाँधमा कङ्क्रिट भर्ने काम २०८१ साल चैत ७ गतेदेखि सुरु गरिएको थियो।
बाँधको फाउन्डेसनलाई मजबुत र स्थिर बनाउन विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, ‘कन्सोलिडेसन ग्राउटिङ’ तथा ‘कर्टेन ग्राउटिङ’को काम सम्पन्न गरिएको छ।
यसैगरी, बाँध आसपासको ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान र ग्याबियन निर्माणको काम पनि निरन्तर भइरहेको छ। आयोजनाका अनुसार बाँध निर्माणसँग सम्बन्धित संरचनाको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहेको छ।
तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि तीनवटा प्याकेजमा काम भइरहेको छ। प्याकेज–१ अन्तर्गत मुख्य बाँध तथा सम्बन्धित संरचना निर्माण भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य