सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

जलसरोकार
बुधबार, वैशाख ३०, २०८३ | ०९:२१:१६ बजे

 

दमौली (तनहुँ) : नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ।

तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँको देवघाट गाउँपालिका–४ मा निर्माण हुने आयोजनाको सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि, काठमाडौंसँग ठेक्का सम्झौता गरेको हो।

आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार विसं २०८० फागुन ७ गते सम्झौता सम्पन्न भए पनि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृतिमा ढिलाइ हुँदा निर्माण प्रक्रिया प्रभावित भएको थियो। आवश्यक अनुमति प्राप्त भएपछि अहिले सुरुङ निर्माण सुरु गरिएको उनले बताए ।

उनका अनुसार प्रवेश सुरुङ आयोजनाको मुख्य संरचना निर्माण, भूगर्भीय अध्ययन तथा पहुँच मार्गका लागि महत्वपूर्ण रहनेछ। तल्लो सेती आयोजना ‘पिकिङ रन अफ द रिभर’ प्रकृतिको अर्धजलाशययुक्त आयोजना हो, जसबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

आयोजनाअन्तर्गत बाँध तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। ३२ मिटर अग्लो बाँधबाट करिब १२ दशमलव ७ किलोमिटर लामो जलाशय बन्नेछ भने सञ्चित पानीलाई ६ दशमलव ७५ किलोमिटर लामो सुरुङमार्फत देवघाट गाउँपालिका–४ स्थित गाईघाटमा निर्माण हुने अर्धभूमिगत विद्युत्‌गृहमा पुर्‍याइने योजना छ।

श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो। आयोजनाको अनुमानित लागत २२७ मिलियन अमेरिकी डलर रहेको छ। कुल लागतको ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत आयोजना निर्माण गर्ने अवधारणागत निर्णय भइसकेको उनले बताए।

विद्युत्‌गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए।

आयोजना सञ्चालनमा आएपछि हिउँदयाममा दैनिक न्यूनतम ६ घण्टा १२६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने जनाइएको छ। माथिल्लो क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना बाट निस्कने पानीको पूर्ण उपयोगका लागि तल्लो सेती आयोजना महत्वपूर्ण ‘क्यास्केड’ आयोजना हुने श्रेष्ठको भनाइ छ।

उनले तनहुँ जलविद्युत् आयोजनाकै प्रसारण लाइन प्रयोग गर्न सकिने भएकाले थप प्रसारण पूर्वाधार निर्माण आवश्यक नपर्ने बताए। साथै आयोजना काठमाडौं र भरतपुरजस्ता प्रमुख लोड सेन्टर नजिक भएकाले लागत प्रभावी र व्यावसायिक रूपमा उपयुक्त रहेको उनको भनाइ छ।

ग्रिड कनेक्सन सम्झौता सम्पन्न भइसकेको र विद्युत् खरिद सम्झौता प्रक्रियामा रहेको जानकारी दिँदै श्रेष्ठले देवघाट गाउँपालिका–४ स्थित विद्युत्‌गृह क्षेत्रमा पहुँचका लागि त्रिशूली नदीमाथि पक्की पुल निर्माण अपरिहार्य रहेको बताए । उक्त पुल निर्माणका लागि करिब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

उनले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम स्वीकृतिका लागि वन मन्त्रालयमा दस्तुर बुझाइसकिएको तथा जापान अन्तरराष्ट्रिय सहयोग नियोगसँग वित्तीय सहयोगका लागि पहल भइरहेको जानकारी दिए। साथै एडीबीले सन् २०२७ मा आयोजना कार्यान्वयनका लागि पाइपलाइनमा राखेको उनले बताए।

 

प्रकाशित मिति : बुधबार, वैशाख ३०, २०८३ | ०९:२१:१६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया