सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तनहुँ जलविद्युत् आयोजनामा मुख्य बाँधको कङ्क्रिट संरचना निर्माण तीव्र, हालसम्म ७३ हजार घनमिटर सम्पन्न

जलसरोकार
बिहीबार, साउन २२, २०८२ | १२:०९:३८ बजे

 

दमौली: तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माण भइरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा मुख्य बाँधको संरचना निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । आयोजनाका अनुसार हालसम्म करिब ७३ हजार घनमिटर कङ्क्रिट संरचना निर्माण सम्पन्न भएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँधका लागि करिब ९ लाख घनमिटर कङ्क्रिट आवश्यक पर्ने अनुमान छ ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार मुख्य बाँध निर्माणका लागि २०८१ चैत ७ गतेदेखि कङ्क्रिट हाल्ने काम सुरु गरिएको हो । हालसम्म बाँधको फाउण्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू उठाइसकिएको छ। यस्तो उच्च बाँधमा प्रयोग हुने कङ्क्रिटको तापमान सन्तुलनमा राख्नुपर्छ भन्ने कुरा विशेष चासोको विषय भएकाले सोहीअनुसार सावधानी अपनाएर काम अघि बढाइएको उनको भनाइ छ ।

यसअघि २०८० कात्तिक २० गतेदेखि बाँधका लागि जग खन्ने काम सुरु गरिएको थियो, जुन २०८१ असारमा सम्पन्न भएको थियो । व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सीमाना भएर बग्ने सेती नदीलाई बाँधस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर काम सुरु गरिएको हो । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई तल्लो तटीय क्षेत्र हुँदै पुनः सेतीमै फर्काइएको छ । नदीलाई फर्काएर बाँध निर्माणका लागि वातावरण तयार पार्ने यो प्रक्रिया आयोजनाको एक महत्वपूर्ण चरण मानिएको छ ।

विसं २०७८ भदौ १४ गतेबाट सुरु गरिएको मुख्य बाँध निर्माणको हालसम्मको भौतिक प्रगति ४३.५ प्रतिशत पुगेको छ । आयोजनाले तोकेको लक्ष्यअनुसार काम अघि बढिरहेको जनाइएको छ। यता, आयोजनाको प्याकेज–२ अन्तर्गतको भूमिगत विद्युत्गृहमा संरचनागत कार्य सम्पन्न भई अहिले उपकरण जडानको काम भइरहेको छ। त्यस्तै, प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति भइसकेको प्रमुख भण्डारीले जानकारी दिए ।

समग्र आयोजना निर्माण कार्य २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पुँजी संरचना, प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत समेटिएको कुल लागत करिब ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। वित्तीय व्यवस्थापनका लागि एसियाली विकास बैंक (ब्म्द्य) बाट १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (व्क्ष्ऋब्) बाट १८ करोड ४० लाख, युरोपियन लगानी बैंक (भ्क्ष्द्य) बाट ८ करोड ५० लाख र नेपाल सरकारअन्तर्गत नेपाल विद्युत् प्राधिकरणबाट ८ करोड ६० लाख डलर बराबरको लगानी सुनिश्चित गरिएको छ ।

बिस्तारै पूर्णता नजिकिँदै गरेको तनहुँ जलविद्युत् आयोजना नेपालका लागि थप ऊर्जा उत्पादनको सम्भावना बोकेको महत्त्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ । आयोजनाको समयमै सम्पन्नता मुलुकको ऊर्जा सुरक्षाका लागि उपलब्धिपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : बिहीबार, साउन २२, २०८२ | १२:०९:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया