मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
जलसरोकार
म्याग्दी, : म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ ।
म्याग्दी र गुर्जाखोलाको दोभान क्षेत्रमा वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा निर्माण हुने बाँध स्थलसम्म करिब आठ किलोमिटर पहुँचमार्ग निर्माण थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चरले जनाएको छ ।
प्रवद्र्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीका अनुसार विद्युत्गृहदेखि बाँध स्थलसम्म पहुँचमार्ग पुगेपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम अघि बढाइनेछ । पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको उनले बताए । सुरुङ निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माणको तयारी पनि गरिएको छ ।
अर्चेको फेदीमा बाँध र गुर्जा तथा म्याग्दी नदीको दोभान क्षेत्रमा विद्युत्गृह रहने यस आयोजनामा चार किलोमिटर लामो सुरुङ निर्माण गरिनेछ । आयोजनाले विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न गरिसकेको छ भने विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पनि प्राप्त गरिसकेको छ । बाँध र विद्युत्गृहबीचको हेड ३३७ मिटर रहेको छ । आयोजनाको लागत प्रतिमेगावाट करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ ।
रन अफ द रिभर प्रविधिमा आधारित यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभी क्षमताको सबस्टेशनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ । दोभानदेखि डाँडाखेतसम्म म्याग्दी तथा सहायक नदी क्षेत्रमा निर्माणाधीन अन्य आयोजनासँग साझेदारी गरी करिब आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिने योजना छ ।
धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ र ४६.२५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । साथै, ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँधसम्म पहुँचमार्ग निर्माणको तयारी गरिरहेको वडाध्यक्ष घर्तीले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणमा वर्षौंदेखि थन्किएको २४ लाखभन्दा बढी धरौटी रकम लिन ३५ दिने समयसीमा
-
देशभित्र बिजुली खपत बढाउने कुरा नारा होइन, राज्य-क्षमताको परीक्षा हो
-
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
-
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
-
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
-
बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा