१२६ मेगावाट तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु हुँदै
जलसरोकार
दमौली (तनहुँ) : तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको पहुँच सडक निर्माण सुरु गर्न लागिएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडले यहाँबाट खेर जाने पानीको सदुपयोग गर्दै तल्लो सेती आयोजना निर्माण प्रक्रिया अगाडि बढाएको हो ।
आयोजनाका लागि निर्माण व्यवसायीले पहुँच सडक निर्माण तथा कार्यालय स्थापना सुरु गरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार तनहुँ आयोजनाबाट प्राप्त हुने नियन्त्रित पानी र मादी नदीबाट थप प्राप्त हुने प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्ने योजना बनाइएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको पनि जनाइएको छ ।
जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्दै
आयोजनाका संरचना निर्माणका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया समेत अगाडि बढाइएको छ । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक निजी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको लिमिटेडले जनाएको छ ।
३२ मिटर अग्लो बाँध र ६.८ किमी सुरुङ
आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । बाँधबाट नियन्त्रित पानीलाई देवघाट–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको संगमदेखि करिब ५०० मिटर तल पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने योजना रहेको छ ।
कुन क्षेत्र प्रभावित?
आयोजनाबाट बन्दीपुर–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, तथा भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने जनाइएको छ ।
२२० केभी प्रसारण लाइनमा जोडिने
देवघाट–४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब २ किलोमिटर प्रसारण लाइन थप निर्माण गर्नुपर्ने जनाइएको छ ।
१२ किमी जलाशय, वार्षिक ५२ करोड युनिट उत्पादन
अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने बताइएको छ । आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान छ । आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।
परामर्श सम्झौता भइसकेको
कम्पनीले आयोजना विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबी (ब्कष्बल म्भखभयिऊभलत द्यबलप) बाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस (भारत) ÷ निप्पन कोई (जापान) जेभीसँग विसं २०७५ चैत २९ गते सम्झौता भएको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
-
कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
-
कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा
-
दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, प्रभावितलाई दाबी–प्रमाण पेश गर्न आग्रह
-
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
-
साताको पहिलो दिन दोहोरो अङ्कले घट्यो सेयर बजार